११ वर्षअघि २०६९ सालमा महेन्द्रनगरको खुलामञ्चमा इन्डो नेपाल आमन्त्रित पुरूष भलिबल प्रतियोगिता भएको थियो।
सो प्रतियोगितामा नेपालका तीन र भारतका तीन वटा टिमको सहभागिता थियो। नेपाल र भारतको सम्बन्धमा सुधार होस् भन्ने लक्ष्यका साथ सो प्रतियोगिता आयोजना गरिएको थियो।
कञ्चनपुर उद्योग वाणिज्य संघ, सुरक्षा निकायका अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्रलगायत भलिबलको क्षेत्रमा आबद्ध भएका व्यक्तिहरूले सो प्रतियोगिताको आयोजना गरेका थिए।
नेपाल र भारतका राष्ट्रिय टोलीबाट खेल्ने केही खेलाडीले त्यसबेला महेन्द्रनगर खुलामञ्चमा भलिबल खेले।
सबभन्दा महत्वपूर्ण कुरा त देशविदेशमा खेल्ने खेलाडीको खेल स्थानीय मैदानमै दर्शकले हेर्न पाएका थिए। सो प्रतियोगिताका आयोजकमध्येका एक जना जो हाल राष्ट्रिय भलिबल टिमका प्रशिक्षक पनि छन्, जगदिश भट्टका अनुसार एकै दिन २० हजार दर्शकले उक्त प्रतियोगिताको फाइनल खेल हेरेका थिए। त्यतिबेला प्रथम पुरस्कार राशी डेढ लाख राखिएको थियो। नेपाल प्रहरी त्यो प्रतियोगिताको विजेता बनेको थियो।
‘त्यो बेला अहिलेको जस्तो मिडियाले खेलको प्रत्यक्ष प्रसारण गर्न सहज थिएन, पत्रपत्रिका र भएका टेलिभिजनले भने राम्रै सहयोग गरेका थिए, सो प्रतियोगितापछि सुदूरपश्चिम टोलीको मात्र नभई नेपाल टिमकै समग्र प्रदर्शनमा सुधारमा मद्दत पुगेको थियो,’ उनले भने।
त्यसको १ वर्ष पहिले २०६८ सालमा छैटौं राष्ट्रिय खेलकुद यो मैदानमा भएको थियो।
प्रशिक्षक भट्टका अनुसार त्यसपछि ११ वर्ष खुलामञ्चमा भलिबलका राष्ट्रियस्तरका खेल भएनन्।
‘महेन्द्रनगरमा भलिबल खेल आयोजना गर्न बीचमा पहलकदमीको कमी भएको हो,’ भट्टले भने।
११ वर्षपछि २०८० माघमा भने खुलामञ्च सजियो। भलिबल प्रतियोगिता गर्ने माहोल बन्यो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गर्दै आएको राष्ट्रिय पुरूष भलिबल प्रतियोगितामा सात प्रदेशका टोली र तीन विभागीय टोली महेन्द्रनगरमा भिडे।
कञ्चनपुर भलिबल संघले व्यवस्थापन गरेको यो राष्ट्रिय प्रतियोगिता महेन्द्रनगरको खुलामञ्चमा सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोग रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए।
‘कञ्चनपुरको खेलकुदमा महत्वपूर्ण भूमिका छ भन्ने सन्देश दिन, हामीले यहाँ राष्ट्रियस्तरको भलिबल प्रतियोगिताका आयोजना गरेका हौं, यो प्रतियोगितालाई पर्वकै रूपमै प्रदेशबासीले ग्रहण गरे,’ सिंहले भने।
मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको अघिल्लो सिजन धनगढीमा भएको थियो।
‘सदस्य सचिव सिंहले यसपटक कञ्चनपुरमा गर्न सल्लाह दिएपछि हामी थप हौसिएका हौं,’ प्रतियोगिताका व्यवस्थापक समेत रहेका राष्ट्रिय भलिबल प्रशिक्षक जगदिश भट्टले भने।
प्रतियोगितामा शुक्रबार खेलाडीलाई महेन्द्रनगर बजारमा स्कर्टिंङ गरेर मैदानसम्म ल्याइएको थियो। खेलाडीलाई दूतका रूपमा सम्मान दिन त्यसो गरिएको आयोजकको भनाइ थियो।
माघ १३ गतेदेखि २० गतेसम्म सञ्चालन भएको तेस्रो मुख्यमन्त्री कप पुरूष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफले जित्यो।
फाइनलमा एपिएफसित पराजित भएको गण्डकी प्रदेश उपविजेतामा सीमित हुनुपर्यो। प्रतियोगिताभरि २४ वटा खेल भएका थिए।
मुख्यमन्त्री कपको यो सिजन विजेता बनेको एपिएफले चार लाख नगदसहित ट्रफी जित्यो। गण्डकीले २ लाख नगदमा चित्त बुुझायो।
तेस्रो स्थानका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी भिडेका थिए। पुलिसले आर्मीलाई हराएर तेस्रो भयो। उसले नगद १ लाख रुपैयाँ पुरस्कार पायो भने आर्मीले सान्त्वना पुरस्कारस्वरूप ५० हजार रुपैयाँ पायो।
प्रतियोगितामा वेष्ट सर्भर एपिएफका हेमन्त मल्ल घोषित भए। वेष्ट सेटर नेपाल प्रहरीका यम राना भए। बेष्ट स्पाइकर गण्डकी प्रदेशका रवी केसी बने। बेष्ट ब्लकर गण्डकी प्रदेशका इन्द्र विक बने। बेष्ट डिभेन्डर एपिएफका विनोद चन्द घोषित भए।
बेष्ट इमर्जिन खेलाडी सुदूरपश्चिम प्रदेशका अर्जुन नेपाली घोेषित भए। उनीहरूले क्रमश: १० हजार नगद तथा प्रमाणपत्र मेडल प्राप्त गरे। यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा बने। उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए। बेष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ल बने।
कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ७३ वर्षीय रघुनाथ अवस्थीलाई फाइनल खेल हेर्न औधि आनन्द लागेको थियो।
उनी शनिबार बिहान घरदेखि ६ किलोमिटर साइकल चलाएर खेल हेर्न महेन्द्रनगरको खुलामञ्चसम्म पुगेका थिए। उनी आफू पनि बाल्यकालमा भलिबल खेल्थे, तर खेलाडी भएर खेलमा निरन्तरता भने दिन सकेनन्। भलिबलको मोह भने उनको अहिलेसम्म घटेको छैन। उनी भलिबल भनेपछि हुरूक्कै हुन्छन्। लामो समयपछि आफ्नो ठाउँमा प्रतियोगिता सञ्चालन भएर खेलाडीहरूको खेल हेर्न पाउँदा खुसी लागेको उनी बताउँछन्।
‘खेल हेर्न राम्रो लाग्यो, हामी पनि जमानामा भलिबल खेल्थ्यौं, प्रतियोगिता अवधिभर म तीन दिन साइकल चलाएर खेल हेर्न मैदानमा पुगेँ,’ अवस्थीले भने।
खुलामञ्चमा ७३ वर्षीय अवस्थीकै उमेरका अरू पनि जेष्ठ नागरिकहरूको ठूलो संख्यामा सहभागिता देखिएको थियो।
फाइनलका खेल हेर्न हजारौं दर्शक उपस्थित भएका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा पर्ने यो खुलामञ्च २०४२ सालअघि स्थापना भएको हो।