‘थोरै प्लस देऊ...!’
गंगा चन्दले दौडिएर सर्ट हानिन्। उनको प्रहारले बल विपक्षी कोर्टको फस्ट लाइनभन्दा करिब चार सेन्टिमिटर पर खस्यो। खुसीले उफ्रँदै गंगाले साथीहरूसँग हात मिलाइन्।
पालो आयो मानबहादुर विश्वकर्माको। उनले रेजरलाई माइनस उठाउन आग्रह गरे, निकै फुर्तीसाथ जम्प लिए। उनले हानेको बल फस्ट लाइनमै पर्यो।
कर्णबहादुर वलीले पनि त्यसरी नै फस्ट लाइनमै सर्ट हाने। खेतको डिलमा बसेका दर्शकहरूले हुटिङ गरे, वाउउउउ...!
‘प्लस’ भनेको नेटभन्दा थोरै बाहिर र माथिको बल हो, ‘माइनस’ भनेको नेटको सिधा माथिको बल। प्रशिक्षक द्रोण चन्दको मुहारमा खुसी नाच्यो। ‘गूड’ भने।
मानबहादुर र कर्णबहादुर ६ फिटभन्दा बढी उचाइका छन्, गंगा ५ फिट र अलिकति बढी। यी सबैको उमेर भने एकै छ, २० वर्ष।
गंगा सल्यानको छत्रेश्वरी गाँउपालिका, दमाचौरकी हुन्। मानबहादुर रूकुम पश्चिमको बाफीकोट गाउँपालिकाका र कर्णबहादुर सल्यानको बागचौर नगरपालिकाका हुन्।
उनीहरू तीनै जना तुलसीपुर उपमहानगरपालिका–६ स्थित ‘राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र’ को कोर्टमा भलिबल प्रशिक्षण लिइरहेका थिए। उनीहरूले अभ्यास थालेको तीन महिना भयो।
गंगा तुलसीपुरकै पब्लिक ज्ञानज्योति कलेजमा ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ विषयको पहिलो वर्षकी विद्यार्थी हुन्।
उनी बिहान कलेज जान्छिन्। मानबहादुर लोक सेवा आयोगको परीक्षा तयारीमा छन्। कर्णबहादुर सल्यानमै स्नातक तहका विद्यार्थी हुन्। भलिबल प्रशिक्षणमा आउनु परेकाले क्याम्पस जना पाएका छैनन्। उनी स्व:अध्ययनमा छन्।
यी तीनै जना तुलसीपुरमा भाडामा कोठा लिएर बसेका छन्। भलिबल उनीहरूको रूचिको खेल हो। ‘राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र’ को औपचारिक उद्घाटन हुन बाँकी छ।
केन्द्रमा प्रशिक्षण सुरू भएको तीन महिना भयो। यस अवधिमा युवती र युवक गरी ३२ जना परीक्षार्थी भर्ना भएका छन्। उनीहरू अधिकांश विद्यार्थी हुन्।
गंगा हरेक दिन अपराह्न चार बजे भलिबल खेल्न आइपुग्छिन्। आफ्नो स्वास्थ्य र करियरका लागि खेल जरूरी रहेको उनी ठान्छिन्।
भविष्यमा राम्रो खेलाडी बनेर देशलाई र आफूलाई चिनाउने चाहना धेरैजसो प्रशिक्षार्थीको छ। कोही चाहिँ सेना र प्रहरीमा भर्ना हुन सजिलोका लागि खेल्न आएका हुन्। भलिबल खेलले शरीर फूर्ती राख्ने र क्षमता बढाउने उनीहरूको विश्वास छ।
दिनभरिमा एक समय खेल्दा पढाइमा कुनै असर नहुने बरू त्यसले शरीरमा स्फूर्ति र ताजगी थप्ने गंगाको भनाइ छ।
‘गाउँघरमा केटा मान्छेले भलिबल खेलेको देख्दा खुब रमाइलो लाग्थ्यो, मलाई पनि खेल्न मन लाग्थ्यो,’ गंगाले भनिन्, ‘सानैदेखि गाउँमा भलिबल हेर्दाहेर्दै म पनि खेलमा आकर्षित भएँ।’
पहाडबाट उच्च शिक्षाको लागि दाङ झरे पनि खेलको रूचि मार्न नसकेको उनले बताइन्।
उनले भनिन्, ‘दाङ झरेपछि बल्ल एउटा रूचि पूरा गर्ने अवसर मिलेकोमा मन खुसी छ।’
भलिबल तालिम लिन थालेपछि कलेजका साथीले समेत ‘बोल्ड लेडी’ भनेर गंगाको प्रशंसा गर्न थालेका छन्।
गंगासहित १० जना युवती भलिबलको नियमित प्रशिक्षणमा संलग्न छन्। युवक २२ जना छन्। यीमध्ये अधिकांश रोल्पा, रूकुम र सल्यान हुन्।
‘राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र’ को नालीबेली
‘राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र’ २६ वर्षीय कमल खत्रीको नेतृत्वमा छ। कमल रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाका स्थायी बासिन्दा हुन्। हाल उनी तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्नातकोत्तर तहमा गणित विषयका विद्यार्थी हुन्।
हिमाली जिल्ला रूकुममा समथर ठाउँ धेरै नहुने हुँदा थोरै ठाउँमा खेल्न सकिने भलिबलमा उनको रूचि बढ्यो। उनी बाल्यकालमै पनि भलिबल खेल्थे।
कमल २०६८ सालमा विद्यालय शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि तुलसीपुर आए।
पढाइको व्यस्ततामा पनि उनले क्याम्पसमा भलिबल खेल्न छुटाएनन्। उनी बबई क्याम्पसमा भर्ना हुँदा वार्षिक खेल कार्यक्रममा क्रिकेट राखिएको थियो तर भलिबल थिएन।
कमलले आवाज उठाएपछि क्याम्पसको वार्षिक कार्यक्रममा भलिबल पनि थपियो। त्यसपछि क्याम्पसमा भलिबलको नियमित अभ्यास हुन थाल्यो।
सल्यान, रूकुम, रोल्पा, प्यूठान, जाजरकोट जस्ता पहाडी क्षेत्रमा फुटबल मैदानका लागि प्रशस्त ठाउँ हुँदैन। त्यहाँ खेलिने मुख्य खेल भलिबल नै हो।
दाङका भलिबलप्रेमीहरू दाङमै भलिबल खेल्ने राम्रो ठाउँ भए हुन्थ्यो भन्ने ठान्थे। त्यही आवश्यकता पूरा गर्न कमलको पहलमा ‘राप्ती किङ प्रशिक्षण केन्द्र’ स्थापना भएको हो।
तुलसीपुर बजारको केन्द्र भागमा खुला अरनिको मैदान छ। यो खुला मैदानमा भलिबल खेल्न सहज छैन। त्यहाँ शौचालय छैन। चेन्जिङ रूम छैन, खानेपानी पनि छैन।
कमल भलिबल खेल्ने उपयुक्त स्थानको खोजीमा लागे। बजार क्षेत्रमा आवश्यकताअनुसारको जमिन पाउन सजिलो हुने कुरै भएन। करिब डेढ वर्षको प्रयास एक वर्ष अघि पूरा भयो।
कमलले मुख्य बजारबाट केही पर साढे १२ कठ्ठा जग्गा फेला पारे। जग्गा धनी मेघराज धितालसँग कुरा मिल्यो। प्रत्येक वर्ष दुई प्रतिशत वृद्धि हुने गरी वार्षिक तीन लाख रुपैयाँमा दस वर्षका लागि जग्गा लिजमा लिए। यसपछि दाङ जिल्ला खेलकुद विकास समितिमा २०७८ साल साउन २५ मा प्रशिक्षण केन्द्र दर्ता गरे।
कमल प्रशिक्षण केन्द्र सञ्चालक समितिका अध्यक्ष हुन्। सन्तोष राना सचिव छन्। उनी तुलसीपुरका हुन्। राजु एरी र वीरेन्द्र डाँगी सदस्य छन्। यी सबै उमेरले ३० वर्षमुनिका छन्।
सञ्चालक समितिले केन्द्र परिसरमा संरचनाहरू निर्माण गर्दैछ। संरचना निर्माणमा हालसम्म ४० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाइएको छ। कुल १ करोड २० लाख रुपैयाँ लागत अनुमान छ। यी संरचनामा कार्यालय भवन, शौचालय स्नानघर, क्यान्टिन, चेन्जिङ रूम, प्रशिक्षक कक्ष लगायत छन्। कम्पाउन्डमा तारबार गर्ने तयारी छ।
खेलप्रेमी चार जना युवाको निजी लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा छ।
कमलका अनुसार हालसम्म कतैबाट कुनै पनि प्रकारको सहयोग प्राप्त भएको छैन। स्थानीय सरकारले खेलकुदको विकासका लागि काम गर्नुपर्ने उनको भनाइ छ।
पढाइका सिलसिलामा दाङमा बस्दै आएका कमलजस्ता युवाहरूका पहलमा स्वस्फूर्त रूपमा तुलसीपुरमा भलिबलका प्रतियोगिताहरू हुने गरेका छन्। प्रतियोगिताहरूमा कहिलेकाहीँ स्थानीय व्यापारीले मद्दत गर्ने गरेको कमलले बताए।
जयन्द्रबहादुर चन्द नेतृत्वको गणतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको एक लाख रुपैयाँ राशिको भलिबल प्रतियोगिता, स्वतन्त्र युवा क्लबले आयोजना गरेको ६० हजार रुपैयाँ राशिको फुटबल प्रतियोगिता लगायत एक दर्जनभन्दा बढी प्रतियोगिता सफल बनाउन कमल र उनको टिमले सहयोग गरेको थियो।
गत फागुनमा घोराहीमा आयोजित प्रथम खुमबहादुर खड्का स्मृति कप भलिबल प्रतियोगितामा टिम कोच रहेका कमलले आफ्नो टिमलाई उपाधि जिताएका थिए।
राप्ती किङका खेलाडीले चार पटक प्रथम पुरस्कार हासिल गरेका छन्।
यसरी पाइन्छ केन्द्रमा प्रवेश
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रमा प्रवेश पाउन खेलाडीले तोकिएको शुल्क तिर्नुपर्छ र केन्द्रले तय गरेको अनुशासनको नियम पालना गर्नुपर्छ।
पुरूष खेलाडीका लागि प्रवेश शुल्क एक हजार पाँच सय र मासिक शुल्क एक हजार रुपैयाँ तथा महिला खेलाडीका लागि प्रवेश शुल्क एक हजार र मासिक शुल्क सात रुपैयाँ तोकिएको छ।
यो शुल्कबाट खेल सामग्री र एक सेट जर्सी पाउँछन्।
प्रतिबद्ध प्रशिक्षक
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक हुन् २९ वर्षीय द्रोण चन्द हुन्। सल्यानको दार्मा गाउँपालिकामा द्रोण मासिक ३० हजार रुपैयाँमा अनुबन्धित भएका हुन्।
द्रोण कक्षा ६ मा पढ्दै गर्दा भलिबलको इलाका स्तरीय गेममा छनोट भएका थिए। कक्षा १० मा पढ्दा उनले सल्यान जिल्ला स्तरीय प्रतियोगिता खेले। २०६६ सालमा एसएलसी उत्तीर्ण भएपछि पढाइका लागि काठमाडौं बस्दा पनि उनले भलिबल खेल्न छोडेनन्। उनले विभिन्न प्रतियोगिता खेलेका छन्।
तीन वर्षअघि द्रोणले तीन ‘लेभल वान’ प्रशिक्षक प्रशिक्षण लिए। उनी हाल राष्ट्रियस्तरका प्रशिक्षक हुन्। यसलाई उनीले आफ्नो जीवनको सफलता ठानेका छन्।
आफूले नेपाली सेनाका खेलाडीहरूलाई पनि तालिम दिएको उनले बताए।
उनका अनुसार नेपाल पुलिस क्लबमा पनि उनका प्रशिक्षार्थीहरु छन्।
द्रोणले कमर्स विषयमा स्नाकोत्तर गरेका छन्। काठमाडौं बस्दा कलेजमा पढाए पनि। पढाइ पूरा गरेपछि उनी दाङ फर्के।
‘मलाई भलिबलको प्रेमले जित्यो र म सबै छोडेर दाङ आएँ,’ उनले भने, ‘अब यता पनि सम्भव भएसम्म बिहान कलेजमा पढाउनु पर्ला।’
देशका लागि योग्य खेलाडी उत्पादन गर्नु प्रशिक्षण केन्द्रको उद्देश्य रहेको र आफू प्रतिबद्धताका साथ प्रशिक्षणमा लागेको उनले बताए। दृढ संकल्प, मिहिनेत र निरन्तरताले खेलाडीलाई सफल बनाउने उनको भनाइ छ।
प्रशिक्षक केन्द्र : भलिबलमा पुनर्जागरण
दाङका भीमबहादुर डाँगी नेपाली राष्ट्रिय भलिबल टिमका सहायक प्रशिक्षक तथा लुम्बिनी प्रदेशमा भलिबलका प्रमुख प्रशिक्षक हुन्।
कुनै समय दाङबाट भलिबल चिनाउन तुलसीपुर–८, अश्वाराका कुबेर शाहको ठूलो योगदान थियो। शाहकै कारण दाङमा भलिबल लगायत अन्य खेलकुदको विकास र विस्तार भएको भीमबहादुरको भनाइ छ।
उनले भने, ‘आज हामी दंगाली प्रशिक्षक वा खेलाडीहरू जति पनि छौँ, त्यो सबै कुबेर शाहकै देन हो।’
उनका अनुसार शाहको भौतिक अवसानपछि दाङको खेलकुदमा असर पर्यो।
हाल केही युवाहरू मिलेर तुलसीपुरमा भलिबल प्रशिक्षण केन्द्र खोलेपछि आशाको सञ्चार भएको भीमबहादुरले बताए।
‘म त्यो प्रशिक्षण केन्द्रमा गएर धेरै पटक खेल हेरेको छु,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम युवाहरूले मिलेर निजी क्षेत्रबाट गर्नु निकै सराहनीय हो ।’
२०३९ सालमा ‘दाङ जिल्ला खेलकुद विकास समिति’ गठन भएको थियो। त्यसअघि २०३७ सालमा ‘राप्ती अञ्चल खेलकुद विकास’ समिति गठन भएको थियो ।
दाङ जिल्ला खेलकुद विकास समितिका संस्थापक सदस्य सचिव ६३ वर्षीय केदारराज श्रेष्ठले कुबेर शाहको अवसानपछि दाङको मात्रै नभई आसपासका जिल्लाहरूको समेत खेलकुद गतिविधिमा असर परेको बताए।
माओवादी सशस्त्र युद्धपछि दाङसहित आसपासका जिल्लाहरूको खेलकुद गतिविधि लगभग नामेट हुने अवस्थामा पुगेको केदारराजको बुझाइ छ ।
राष्ट्रिय खेल घोषणा भएपछि भलिबलप्रति आकर्षण बढ्दै गएको उनले बताए।
तुलसीपुरमा पढे/लेखेका युवाहरू मिलेर निजी लगानीमा भलिबल खेल जगाउन शिक्षण केन्द्र खोल्नु सराहनीय काम भएको उनको टिप्पणी छ।
नेपाल सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको हो।