पोखरामा सम्पन्न राखेप च्याम्पियनसीप अन्तर्गत ३१ औं पुरूष भलिबलको उपाधि नेपाली सेनाको आर्मी क्लबले जितेको भने २१ औं महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ।
उपाधिसँग आर्मी र एपीएफले ५०/ ५० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन्। दोस्रो भएका एपिएफ र महिला तर्फ मध्यमाञ्चले नगद ३०/३० मा नगदमा चित्त बुझाए।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाली सेनाले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा जितेको छ।
महिला तर्फ एपिएफले मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। एपिएफले रमिला तण्डुकार, प्रतिभा मालीसहितका न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम सेट रहेको मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सेटमा पराजित गर्यो।
महिला राष्ट्रिय भलिवल टिमकी पूर्व कप्तानसमेत रहेकी रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेस्रो भएका छन् । तेस्रो भएका दुबै टिमले नगद २०/२० हजार, ट्रफी र मेडल प्राप्त गरे ।
तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा र पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३/२ को सेटमा पराजित गर्यो।
महिलातर्फ नेपाल प्रहरीले २५–१५, २५–२१ र २५–२१ को सेटमा पराजित गर्यो। पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को संघर्षपूर्ण जित निकाल्यो ।
पुरूषतर्फ आर्मीको मान बहादुर श्रेष्ठ र महिला तर्फ एपीएफको सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन्दै नगद १०/१० हजार जित्न सफल भएका छन्। विजयी खेलाडीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, प्रदेश नम्बर ४ का सभासद् इन्द्रधारा विष्ट, नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जरमण शर्मा, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगाएतले पुरस्कार वितरण गरेका थिए ।