पेरिस ओलम्पिक २०२४ अन्तर्गत स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नुअघि भारतीय महिला कुस्ती खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छन्।
विनेश ५० केजी तौल समूहको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्। योसँगै विनेशले ओलम्पिकमा कुनै पदक जित्न सक्ने छैनन्।
भारतीय ओलम्पिक कमिटीले यसप्रति दुःख व्यक्त गरेको छ। कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै दु:खका साथ विनेश फोगाट महिला कुस्तीको ५० केजी तौल समूहमा अयोग्य घोषित भएको खबर सार्वजनिक गर्दछौं। टोलीको रातभरको उत्कृष्ट प्रयासका बाबजुद विनेश फोगाट ५० केजी तौल समूहमा अयोग्य घोषित भएकी छिन्। आज बिहान उनको तौल ५० किलोभन्दा केही ग्राम बढी भएको पाइएको थियो।'
मंगलबार प्रि-क्वार्टरफाइनलमा विश्व नम्बर एक खेलाडीलाई र सेमिफाइनलमा क्युबाली खेलाडीलाई हराउँदै विनेश फाइनलमा पुगेकी थिइन्। उनी ओलम्पिकको फाइनलमा पुग्ने पहिलो भारतीय महिला कुस्ती खेलाडी थिइन्। जससँगै पेरिस ओलम्पिकको ५० केजी तौल समूहमा विनेश फोगाटको कम्तिमा रजत पदक पक्का भएको थियो। तर विनेशको यो सपना चकनाचुर भएको छ।
कुनै पनि कुस्ती प्रतियोगितामा भाग लिने खेलाडीलाई विभिन्न तौल वर्गमा वर्गीकृत गरिन्छ। प्रतियोगितामा एक तौल समूहको प्रतिस्पर्धा दुई दिनसम्म हुन्छ। प्रतिस्पर्धाको पहिलो दिन बिहान मेडिकल जाँच र तौल लिइन्छ।
यसपछि फाइनलमा पुग्नेलाई पनि भोलिपल्ट बिहानै तौल्नु पर्नेहुन्छ। नियम भन्छ यस अवधिमा पनि वजनमा कुनै सम्झौता हुँदैन।
यदि खेलाडी तौल प्रक्रियामा असफल भए भने उनीहरू प्रतियोगिताबाट बाहिरिन्छन् र अन्तिम स्थानमा राखिन्छन्।
मानिसको शरीरमा तौल परिवर्तन भइरहन्छ, धेरै पटक यो वजन एक दिनभित्र परिवर्तन हुन्छ। यस्तो अवस्थामा खेलको दुवै दिन खेलाडीको तौल हुन्छ।
आफ्नो तौलभन्दा कम वर्गमा खेल्न सजिलो छैन। यसका लागि तौल घटाएर प्रतियोगिताको दुई दिनसम्म कायम राख्नुपर्छ।
विनेशले तौलका हिसाबले विगतमा पनि चुनौतीको सामना गरिरहेकी थिइन्। उनले ओलम्पिक २०१६ मा ४८ केजी मा आफ्नो तौल घटाउनु परेको थियो र यो चुनौतीपूर्ण थियो। पछि विनेश यस विधामा स्थान बनाउन र खेल्न सफल भइन्। तर पछि विनेश चोटका कारण बाहिरिएकी थिइन्।
उनले टोकियो ओलम्पिकमा ५३ केजी तौल समूहमा खेलेकी थिइन्, तर क्वार्टरफाइनलमा पराजित भएकी थिइन्।