विश्व बुद्धिचाल महासंघले आगामी सेप्टेम्बरमा हंगेरीमा आयोजना गर्ने ४५औं चेस ओलम्पियाडका लागि नेपालले तयारी सुरू गरेको छ।
चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबारदेखि ठमेलको होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने भएको छ।
बन्द प्रशिक्षणमार्फत् नेपाली टोलीको खेलस्तर उकास्न काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) मुर्ताज कागालेयेभ मंगलबार काठमाडौं आइपुगेका छन्।
आफ्नो जीवनको एक समय २७ सय रेटिङ नघाएका सुपर जिएम उनलाई आज विहान नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बू र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
विश्वभरका १९१ राष्ट्रहरुको सहभागिता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीले समूह 'डी'मा रहेर सहभागी जनाउनेछन्।
उक्त समूहमा नेपालले पदक हासिल गर्ने लक्ष्यसहित साउन २३ गतेदेखि भदौ ५ गतेसम्म १५ दिन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ। यस लगत्तै नेपाली चेस टोलीलाई थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था गरिएको छ।
गत बैशाखमा सम्पन्न २४औं चेस च्याम्पियनसिप तथा ओलम्पियाड छनोटमा उत्कृष्ट खेलाडीहरु झापाका राजन सुवेदी, शुसुरत दाहाल, क्षितिज भण्डारी, रुपेश जैशवाल र नेपालका उच्च वरियताका विवेक थिङ खुल्लातर्फको टोलीमा रहन सफल भएका छन्।
त्यसैगरी महिला नेशनल च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडीहरु काठमाडौकी सिन्दिरा जोशी, कृतिसारा अधिकारी, कास्किकी पूजा भण्डारी, शान्ति धिमाल र काठमाडौंकी युवा राष्ट्रिय च्याम्पियन रिया श्रेष्ठले बन्द प्रशिक्षणमा सहभागीता जनाउनेछ।
विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी टोलिको नेतृत्व गर्दै चिफ डेलिगेटका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरमबहादुर लामा बुढापेष्ट जाने भएका छन्। डेलिगेट्सले नेपालमा बुद्धिचाल खेलको बृहत्तर विकासका लागि महत्त्वपूर्ण भेटघाट गर्नेछन्। नेपालले पहिलोपटकओलम्पियाडमा अन्तर्राष्ट्रिय स्तरका कोचको व्यवस्था गरी काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) मुर्ताजलाई सँगै लग्ने भएकोछ।
नेपालको पुरुष टिमले ११५ औं वरियता र महिला टिम ११७ औं स्थानमा रहेर खेलको सुरुआत गर्नेछन् ।