बक्सर सिन्डी एनगाम्बाले पेरिस ओलम्पिक २०२४ मा पदक जित्ने पक्का भएको छ।
२५ वर्षीय एनगाम्बाले महिला ७५ केजी तौल समूहको सेमिफाइनलमा स्थान पक्का गरेसँगै कम्तिमा कास्य जित्ने भएकी हुन्।
उनले अन्तिम आठको खेलमा छैटौं वरीयताकी घरेलु खेलाडी डेभिना मिसेललाई पराजित गरेकी हुन्।
क्यामरूनमा जन्मिएकी उनको पदक भने कुनै देशको नाममा गनिनेछैन। १० वर्षको उमेरमा बेलायत पुगेकी उनीसँग त्यहाँको राहदानी छैन।
कुनै पनि देशको राहदानी नभएपछि उनी ओलम्पिकमा शरणार्थी टोलीबाट खेलेकी थिइन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा कुनै पनि देशको राहदानी नहुने खेलाडीका लागि शरणार्थी टोलीबाट खेल्ने अनुमति दिँदै आएको छ।
अब एनगाम्बाले जितेको पदक कुनै देशको तालिकमा गणना नभए पनि त्यो पदक शरणार्थी टोलीमा गनिनेछ।
‘मेडल जित्ने पहिलो शरणार्थी हुनु भनेको मेरो लागि ठूलो कुरा हो,’ उनले भनिन्, ‘म केवल एक मानव हुँ, संसारभरका अन्य शरणार्थी र एथलीटहरू जस्तै हुँ।’
शरणार्थी ओलम्पिक टोलीले पहिलोपटक २०१६ को रियोमा प्रतिस्पर्धा गरेको थियो। तर कोही पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन्।
यसअघि टोकियो ओलम्पिकमा करातेमा हमून डेराफशिपोर र तेक्वान्दोमा किमिया अलिजादेहले पाँचौं स्थान हात पारेका थिए।
पेरिस ओलम्पिकको उद्घाटन समारोहमा शरणार्थी टोलीको झण्डा बोकेकी एनगाम्बाले बिहीबार पानामाकी एथेना बायलोनसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछिन्।