पेरिस ओलम्पिक २०२४ मा अल्जेरियाकी महिला बक्सर इमान खलिफसँग प्रतिस्पर्धामा उत्रिएकी इटालियन बक्सरले ४६ सेकेण्डमै खेल त्यागेकी छिन्।
इटालियन बक्सर एन्जेला कारिनीले रिङमा प्रवेश गरेको ४६ सेकेन्डमै खलिफविरुद्धको खेल त्याग गरेकी हुन्।
अन्तर्राष्ट्रिय बक्सिङ महासंघको प्रतिबन्धको बावजुत पेरिस ओलम्पिकमा भाग लिन अनुमति दिइएका दुई खेलाडीमध्ये खलिफ एक हुन्।
यसअघि निर्धारित मापदण्ड पूरा नगरेको भन्दै महिला बक्सिङको विश्व च्याम्पियनसिपमा उनी सहभागी हुन पाएकी थिइनन्।
अन्तर्राष्ट्रिय बक्सिङ महासंघले खालिफको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेको कारण भारतमा भएको विश्व च्याम्पियनसिप खेल्न दिएको थिएन। यो हर्मोन पुरुषमा पाइन्छ ।
पेरिस ओलम्पिकमा २५ वर्षीय खलिफ पहिलो राउण्डमा बाइ पाएर अन्तिम १६ को खेलमा रिङमा प्रवेश गर्दा दर्शकमा रहेका अल्जेरियन फ्यानले ताली बजाएर स्वागत गरेका थिए।
३० सेकेन्डमा खलिफले अनुहारमा मुक्का हानेपछि उनकी प्रतिद्वन्द्वी एन्जेला करिनी आफ्नो हेडगियर सम्हाल्न प्रशिक्षकसँग पुगेकी थिइन्। खेल फेरि सुरु भएको केही सेकेन्डमै उनी आफ्नो कुनामा फर्किन् र खेल त्याग गरेको संकेत गरेको थिइन्। यसपछि खलिफलाई विजेता घोषित गर्ने बित्तिकै करिनीले भनेकी थिइन्- ‘यो ठीक होइन।’
खेलपछि मिडियासँग कुरा गर्ने क्रममा करिनीको आँखामा आँसु थियो। ‘मैले खेल समाप्त गर्न सकिन,’ करिनीको भनाइ उधृत गर्दै बीबीसी स्पोर्ट्सले लेखेको छ, ‘मेरो नाकमा अत्याधिक पीडा भयो। यो अनुभवपछि आफूलाई महिलाको हैसियतमा भएको अनुभव र परिपक्वताका आधारमा मेरो देशले यसमा कुनै आपत्ति जनाउँदैन भन्ने लाग्यो। त्यसैले म रोकिएँ। मैले आफैलाई रोक्न भने। यो मेरो जीवनभरको लागि यादगार खेल हुन सक्थ्यो तर त्यसबेला मैले आफ्नो ज्यान जोगाउनु परेको थियो। म डराएको छैन। रिङमा मलाई कत्ति पनि डर थिएन। प्रहार गर्दा पनि मलाई डर लागेन। तर यसपटक सबै कुराको अन्त्य हुनैपर्छ। मैले खेल समाप्त गरे, किनभने म अगाडि लड्न असमर्थ थिए।’
आफ्नो सम्पूर्ण करिअरमा खलिफले ५० खेल खेल्दा नौ पटक मात्र हारेकी छिन्। खलिफले खेलपछि आफू स्वर्णका लागि आएको र अब सबै खेलाडीसँग लड्ने बताइन्।
यस खेलको एक दिनअघि अल्जेरियाको ओलम्पिक कमिटीले खलिफमाथि लागेको आरोपलाई निराधार भएको बताएको थियो।
२५ वर्षीय मुक्केबाज खलिफ अल्जेरियाको टियारेटकी हुन्। खलिफले २०१८ मा विश्व च्याम्पियनसिपमा डेब्यू गरेकी थिइन् तर उनी त्यहाँ १७ औं स्थानमा रहिन्। २०१९ मा उनी नवौं स्थानमा थिइन्।
२०२१ टोकियो ओलम्पिकमा उनी क्वार्टरफाइनलमा आयरल्यान्डकी केली ह्यारिङटनसँग पराजित भएकी थिइन्।
उनले २०२२ अफ्रिकी च्याम्पियनसिप, मेडिटेरेनियन गेम्स र २०२३ अरब खेलमा स्वर्ण पदक जितेकी थिइन्।
भारतको नयाँ दिल्लीमा गत वर्ष भएको विश्व च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘डिएनए परीक्षण गर्दा च्याम्पियनसिपमा सहभागी धेरै बक्सरले आफूलाई चलाखीपूर्वक महिलाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए। तर परीक्षणपछि उनमा 'एक्स-वाई' क्रोमोजोम रहेको पाइएको थियो। यस्ता खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन्।’
तर अल्जेरियन ओलम्पिक कमिटीले यस निर्णयमा खलिफलाई 'स्वास्थ्य कारण'का कारण हटाएको बताएको थियो।
अल्जेरियन मिडियाले खलिफको उच्च टेस्टोस्टेरोनका कारण हटाएको विश्वास गरेका थिए। यस निर्णयबाट असन्तुष्ट खलिफले भनेकी थिइन्, ‘केही देशहरू अल्जेरियाले स्वर्ण पदक जितेको चाहँदैनन्। यो ठूलो षड्यन्त्र र षड्यन्त्र हो। यसमा हामी चुप लागेर बस्दैनौँ।’
गत वर्षको विश्व च्याम्पियनसिपमा ताइवानकी लिन यु-थिङको कास्य पदक खोसिएको थियो। उनी लैङ्गिक योग्यता परीक्षामा फेल भएको आरोप लगाइएको थियो। तर शुक्रबार उनले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन्।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सबै बक्सरले प्रतियोगितामा भाग लिन र प्रवेशका लागि योग्यता मापदण्ड पूरा गरेको बताएको छ।
कमिटीका प्रवक्ता मार्क एडम्सले भने, ‘यी खेलाडीहरूले यसअघि पनि धेरै प्रतियोगितामा खेलिसकेका छन्। उनीहरु अचानक यहाँ आएका होइनन्। तिनीहरूले टोकियोमा पनि खेलेका छन्।'
यद्यपी अन्तर्राष्ट्रिय बक्सिङका अध्यक्ष उओमर क्रेमलेभ रुसका भएका कारण ओलम्पिक कमिटीले बक्सिङ महासंघको निर्णय नमानेको कतिपयको तर्क छ। विश्व च्याम्पियनसिपमा बक्सिङ महासंघको निर्णय चल्ने भए पनि ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्नै निर्णयमा खेल गराउछ।