पेरिस ओलम्पिक २०२४ अन्तर्गत सुटिङमा रजत पदक जितेका टर्किस खेलाडी युसुफ डिकेक आफ्नो असामान्य व्यवहारको लागि अहिले सोसल मिडियामा भाइरल छन्।
उनले प्रतिस्पर्धा गरिरहदा खिचिँएको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै सेयर भएका छन्। डिकेकले खेलका क्रममा एक हात खल्तीमा राखेका थिए भने उनी सामान्य टी-शर्टमा पेस्तोलले आफ्नो निशाना ताकिरहेका थिए। जसका कारण उनलाई हिटम्यानसँग तुलना गरिएको छ।
५१ वर्षीया उनी ओलम्पिक खेल्ने नयाँ खेलाडी भने होइनन्। उनले सन् २००८ देखिका हरेक ओलम्पिकमा प्रतिस्पर्धा गर्दै आएका छन्।
डिकेक र सेभल इलायदा तरहानले मंगलबार सुटिङको मिक्स टिम इभेन्टको १० मिटर एयर पस्तोल स्पर्धा रजत पदक जितेका थिए। ओलम्पिक सुटिङमा टर्कीको यो पहिलो पदक थियो।
सर्बियाका माइकेक र जोराना अरुनोभिकले स्वर्ण जिते भने भारतका मनु भाकर र सरबजोत सिंहले कास्य हात पारे।
सुटरलाई प्रतिस्पर्धाको लागि कस्तो लुगा लगाउने भन्ने बारे स्वतन्त्रता हुन्छ। धेरै सुटरले बत्तीको चमक कम गर्न भिजर लगाउने छनोट गर्छन् वा आँखामा ब्लाइन्डर लगाउने गर्छन्। किनभने आँखाको लागि राम्रो फोकस पाउन सकियोस् भन्ने सबैको ध्यान हुन्छ। तर डिकेकले कुनै पनि सुटिङ गियर लगाएका थिएनन्।
यता दक्षिण कोरियाकी सुटिङ खेलाडी पनि भाइरल भएकी छन्। पेस्तोल सुटर किम येजीको आत्मविश्वासपूर्ण व्यवहारका कारण उनको अहिले सोसल मिडियामा प्रशंसा भइरहेको छ।
किमले आइतबार महिला १० मिटर एयर पोस्तोल स्पर्धामा आफ्नै देशकी ओ ये जिनलाई पछि पार्दै रजत जितिन्। किम र ओ ये रूममेट हुन्।
प्रतिस्पर्धा गरिरहँदा र आफूले पदक जित्दा समेत निकै ‘कुल’ देखिएका कारण पनि उनको व्यवहारलाई लिएर धेरैले टिप्पणी गरिरहेका छन्।