पेरिस ओलम्पिक २०२४ को टेनिसतर्फ पुरुष डबल्सको क्वार्टरफाइनलमा सोझो सेटमा पराजित भएसँगै बेलायती टेनिस आइकन एन्डी मुर्रे व्यावसायिक टेनिसबाट टाढा भएका छन्।
दुई पटकको ओलम्पिक एकल च्याम्पियन मुर्रे र ड्यान इभान्सको जोडीलाई अमेरिकाका तेस्रो वरियताका टेलर फ्रिट्ज र टमी पलले ६-२ र ६-४ ले पराजित गरेका थिए।
३७ वर्षीय मुर्रेले पेरिस ओलम्पिकअघि नै खेलबाट संन्यास लिँदै पेरिस ओलम्पकि आफ्नो अन्तिम प्रतियोगिता नै हुने कुरा पुष्टि गरेका थिए।
पूर्व विश्व नम्बर एक मुर्रेले २०१२ को यूएस ओपन र २०१३ र २०१६ मा विम्बल्डन उपाधि जितेका थिए।
इभान्ससँग लामो समयसम्म अँगालो लगाएपछि प्रशंसकहरूले उनको नाम लिँदा मुर्रे भावुक भएका थिए।
२००५ मा किशोरावस्थामा व्यवासायिक बनेका मुरेले आफ्नो करियरमा १००१ वटा एकल खेल खेले।
उनले ४६ एटीपी उपाधि जिते र सन् २०१५ मा बेलायतलाई डेभिस कप जिताउन पनि नेतृत्व गरे।
व्यवसायिक टेनिसको अन्तिम खेल खेलेसँगै उनले सामाजिक सञ्जाल एक्समा हाँसो गर्दै ‘आफूलाई टेनिस कहिल्यै मन नपरेको’ लेखेका छन्।