नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्।
फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २-० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो।
प्रिन्स पहिलो सेट २१-१२ र दोस्रो सेट २१-१० ले पराजित भए।
यसअघि प्रिन्स दोस्रो खेलमा खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ को सोझो सेटमा पराजित भएका थिए।
विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सले पहिलो खेलमा विश्व वरीयताको नम्बर दुई खेलाडीसँग भिडेका थिए। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए।
ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।
प्रिन्स पराजित भएसँगै नेपालका ६ खेलाडीको चुनौती समाप्त भएको छ। नेपाली पौडीवाज एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे पनि हिट चरणबाटै आउट भएका थिए। यसअघि पौडीकै डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, जुडोकी मनीता श्रेष्ठ प्रधान र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै प्रतियोगिताबाट बाहिरिएका थिए।
अब एथलेटिक्सको महिला म्याराथन (४२.१९५ किलोमिटर) मा सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको अन्तिम दिन अगष्ट ११ तारिखमा प्रतिस्पर्धा गर्ने छिन्। सन्तोषीको स्पर्धा नै नेपालको अन्तिम प्रतिस्पर्धा हुनेछ। सन्तोषी मंगलबार पेरिस पुगेकी छिन्।