पेरिस ओलम्पिक २०२४ अन्तर्गत तेस्रो दिनको खेल जारी रहदा भारतले पहिलो पदक जित्न सफल भएको छ।
दक्षिण एसिया क्षेत्रका लागि पहिलो पदक भित्र्याउने क्रममा भारतले सुटिङको महिला १० मिटर एयर पेस्तोलबाट कास्य पदक जितेको हो।
भारतका लागि मनु भाकर कास्य पदक जितेकी हुन्। यो स्पर्धाको स्वर्ण र रजत दुवै पदक दक्षिण कोरियाका खेलाडीले जिते।
भारतका लागि पहिलो पदक जितेकी मनु हरियाणाको झज्जर जिल्लाको गोरिया गाउँकी बासिन्दा हुन्। उनले २०१८ मा मेक्सिकोमा भएको अन्तर्राष्ट्रिय शूटिङ स्पोर्ट्स भारतको लागि दुई स्वर्ण पदक जितेकी थिइन्।
अहिलेसम्म २१ देशले पदक जितेका छन्। जसमा अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत गरी कुल ५ पदक हात पारेका छन्। यस्तै चीनले ३ स्वर्ण र १ कास्य हात पारेको छ।
दक्षिण कोरियाले २-२ स्वर्ण र रजत तथा १ कास्य जितेको छ। अमेरिकाले अहिलेसम्म १ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सकेको छ।