पेरिस ओलम्पिक २०२४ को आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। उद्घाटन समारोहमा नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलाडी मनिता श्रेष्ठले राष्ट्रिय झण्डा बोक्नेछन्।
यसपटक ओलम्पिकको उद्घाटन रंगशाला बाहिर पनि हुने भएको छ। उद्घाटनमा मध्य पेरिसबाट सेइन नदीको ६ किलोमिटर लामो खण्डमा विभिन्न देशका खेलाडीको टोली डुंगामा परेडमा देख्न सकिनेछ।
जहाँ नेपालका खेलाडी पनि डुंगामा हुनेछन् भने स्यान्टु र मनिताले झण्डा बोक्नेछन्।
‘ओलम्पिक उद्घाटन समारोह रंगशाला बाहिर हुने भनिएको छ। यसअघि एसियन गेम्सको उद्घाटन समारोहमा भाग लिएको थिए। अहिले फरक प्रकारको समारोहमा सहभागी हुन पाउने कुराले उत्साहित छु,’ स्यान्टुले राष्ट्रिय खेलकुद परिषदसँग कुरा गर्दै भनेका छन्, ‘त्यस्तै उद्घाटनमा नेपालको झण्डा बोक्न पाउनु मेरो लागि गर्व गर्ने कुरा अर्को हुन सक्दैन।’
यसपटकको ओलम्पिकमा नेपालबाट ७ खेलाडीले भाग लिँदा स्यान्टु मात्र छनोट जितेर ओलम्पिक खेल्न लागेका हुन्। अरु खेलाडीले अंकको आधारमा कोटा पाएकार ओलम्पिक खेल्दैछन्।
यस्तै स्यान्टु नेपालको तर्फबाट छनोट जितेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी र पहिलो टेबलटेनिस खेलाडी बन्दैछन्। यो विषयमा उनले भने, ‘नेपालको तर्फबाट टेबलटेनिस खेल्ने पहिलो खेलाडी हुने इतिहास आफू बन्न पाउँदा खुसी लागिरहेको छ।’
पछिल्लो केही वर्षदेखि अस्ट्रेलियामा बसिरहेका राष्ट्रिय च्याम्पियन स्यान्टुले ओलम्पिकका लागि उतै तयारी गरेका थिए।
‘नेपालमा ओलम्पिक छनोट खेल्न आउनुअघि पनि मैले अस्ट्रेलियामा तयारी गरेका थिए। मेरो प्रशिक्षकले पनि राम्रो समर्थन गर्नु भएको छ। अहिले पनि मेरो राम्रै तयारी भएको छ,’ उनले भने।
स्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका इब्राइम डियासँग शनिबार खेल्दैछन्।
पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी रहेकामा स्यान्टु अन्तिम वरीयतमा रहेका छन्। ६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नु पर्ने नियमअनुसार उनले पहिलो खेल ५१औं वरीयताका खेलाडीसँग खेल्न लागेका हुन्।
प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्नेछन्।