विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता यसपटक फ्रान्सको राजधानी पेरिसमा शुक्रबारदेखि औपचारिक रूपमा हुँदैछ ।
जुलाई २६ देखि अगस्ट ११ सम्म पेरिसमा हुने ३२९ खेलमा विश्वभरका करिब १०,५०० खेलाडीले ओलम्पिक पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालका ७ खेलाडी पनि सहभागी हुनेछन् ।
अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमा आयोजना हुने पाराओलम्पिक खेलमा ४ हजार ४ सय खेलाडीले ५४९ इभेन्टमा पदकका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्। जहाँ नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धागर्नेछन्।
पाराओलम्पिकमा १८४ देश र ओलम्पिकमा २०६ देशका खेलाडी सहभागी छन्।
खेल अवधिभर १ करोड ५० लाखभन्दा बढी पर्यटक पेरिस पुग्ने अपेक्षा गरिएको छ।
सय वर्षपछि ओलम्पिक खेल पेरिसमा फर्किएको हो। यसअघि पछिल्लो पटक सन् १९२४ मा पेरिसमा ओलम्पिक भएको थियो।
पेरिस ओलम्पिक महिला र पुरुष खेलाडी समान संख्यामा सहभागी हुने पहिलो ओलम्पिक बन्दैछ। जहाँ ५२५० पुरुष र ५२५० महिला एथलीटहरूले प्रतिस्पर्धा गर्नेछन्।
अधिकांश खेलहरू पेरिसको बाहिरी भागमा रहेको ओलम्पिक स्टेडियम- स्टेड डे फ्रान्समा हुनेछन्।
यसबाहेक ओलम्पिक खेलका १५ स्थान र सेन्ट्रल पेरिसमा नै पाराओलम्पिकका लागि ११ स्थान निर्धारण गरिएको छ ।
ड्रोन आक्रमण जस्ता धम्कीका बीच फ्रान्सेली सरकारले ओलम्पिक उद्घाटन समारोहमा दर्शकको संख्या घटाएको छ।
उद्घाटनमा मध्य पेरिसबाट सेइन नदीको छ किलोमिटर लामो खण्डमा विभिन्न देशका खेलाडीहरूको टोली डुंगाहरूमा परेडमा देख्न सकिनेछ।
यसअघि सेन नदीको किनारमा ६ लाख मानिसले कार्यक्रम हेर्न पाउने योजना थियो । तर अब सरकारले त्यहाँ तीन लाख आमन्त्रित पाहुना मात्रै आउन दिने बताएको छ।
फ्रान्स सरकारले सुरक्षाका लागि करिब २० हजार सैनिक र ४० हजारभन्दा बढी प्रहरी तैनाथ गरिरहेको छ।
सुरक्षा व्यवस्थाका लागि फ्रान्सले अन्य देशका करिब दुई हजार सैनिक र प्रहरी अधिकारीको सहयोग लिनेछ।
पेरिस ओलम्पिकमा आफ्नो टोली पठाउन नपाउने दुई देश छन्। पेरिस ओलम्पिकमा रुस र बेलारुस दुवै टोली सहभागी हुने छैनन्।
युक्रेनमाथि आक्रमण गरेको कारण रुसलाई पेरिस ओलम्पिकबाट टाढा राखिएको छ ।
यी दुवै देशका खेलाडीले पेरिस ओलम्पिकमा ‘न्युट्रल एथलीट’का रूपमा प्रतिस्पर्धा गर्ने अवसर पाउन सक्छन्। तर ‘तटस्थ खेलाडी’ भने ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन पाउँदैनन्। पदक जितेपछि पनि न राष्ट्रिय गान बजाइन्छ, न त राष्ट्रिय झण्डा फहराइन्छ ।
रुसले आफ्ना खेलाडीलाई गरेको व्यवहारप्रति ‘अत्यन्तै क्रोधित’ भएको बताएको छ। रुसले यसै वर्ष सेप्टेम्बरमा ‘विश्व मैत्री खेल’ आयोजना गर्ने घोषणा गरेको छ ।
यसअघि सन् १९८४ मा सोभियत संघले लस एन्जलस ओलम्पिक खेल बहिष्कार गरेर यस्तै कार्यक्रम आयोजना गरेको थियो।