ई-स्पोर्ट्स एसोसिएसन अफ नेपाल (इसान) ले यो आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।
स्थापना भएको केही महिनामै कर्णाली प्रदेशको सुर्खेतमा ई-स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको इसानले आफ्नो वार्षिक कार्यक्रममा ग्रासरुट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागितालाई समावेश गरेको छ।
संघले यो वर्ष ७ वटा मुख्य कार्यक्रमलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ।
नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला, प्रदेशस्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरू क्यालेन्डरमा नराखिएको संघको भनाइ छ।
गत वर्ष चीनमा भएको एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, इफुटबल लगायतलाई घरेलु प्रतियोगितामा प्राथमिकतामा राखिएको छ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न नीजि तथा सरकारी संघ, संस्थाबाट स्रोत व्यवस्थापन गरेर वार्षिक क्यालेन्डरलाई कार्यान्वयन गरिने संघको योजना छ।