दाङको तुलसीपुरमा शनिबार कोरा साइकल च्यालेञ्ज प्रतियोगिता सम्पन्न भएको छ।
साइकल एसोसिएसन दाङका अध्यक्ष खुमबहादुर न्यौपानेले हरेक वर्ष आजकै दिन देशव्यापी रूपमा कोरा साइकल प्रतियोगिता आयोजना हुँदै आएको बताए।
अध्यक्ष न्यौपानेका अनुसार मठ, मन्दिर, मस्जिद जे जस्ता धार्मिक स्थलहरू छन्, तिनलाई दाँया पारी परिक्रमा गर्नुलाई नै कोरा भन्ने गरिन्छ।
यो प्रतियोगिताको उद्देश्य जति किलोमिटर साइकल यात्रीले यात्रा गर्छन्, त्यति नै रकम संकलन गरी असहाय, गरिब, दैविक प्रकोप पीडितलाई सहयोग गर्नुपर्छ भन्ने रहेको छ।
हरेक वर्ष आयोजना गरिने कोरा प्रतियोगिता ५० किलोमिटर माथि हुने गर्छ। तुलसीपुरका ५५ जना साइकल यात्रीहरूले शनिबार दाङ तुलसीपुरको अरनिको मैदानबाट यात्रा थालेका थिए। उनीहरू उत्तरको थारु देवता भुँयार थानको परिक्रमापछि त्रिशिद्धेश्वरी मन्दिर हुँदै तुलसीपुर – १२ र १३ को सिमाना पर्ने बबई नदीस्थित सितलपुरको शिवायलयको परिक्रमा पछि फेरि उत्तर फर्किएर उरहरी चोक हुँदै दंगीशरणको बैंबाङ पुगेका थिए। त्यहाँबाट उत्तर शान्तिनगरको जुम्मलेकुला हुँदै फेरि उनीहरू ५५ किलोमिटर बढीको यात्रा गरी तुलसीपुर फर्किएका थिए।
यात्राका क्रममा साइकल यात्रीलाई तुलसीपुर– ११ का वडाध्यक्ष मानबहादुर रावत, दंगीशरण– ६ का वडाध्यक्ष रोषण जंग शाह र शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्वागत गर्नुका साथै खाजा नास्ताको व्यवस्थापन गरेका थिए।
झन्डै १५ वर्षदेखि शारीरिक अभ्यासका लागि साइकल चलाउँदै आएका तुलसीपुरका व्यवसायी पर्वत बस्नेतले साइक्लिङले आफ्नो जीवनमा ऊर्जा थपेको बताए।
विगतमा प्यारालाइसिस भएर समस्यामा परेका उनले साइकल चलाउन थालेपछि थेरापीको काम गरेको बताए।
‘साइक्लिङ आज व्यस्त मानिसहरूका लागि अतिआवश्यक आवश्यकता हो,’ उनले भने, ‘यस्ता साइकल इभेन्टहरू मुटु, फोक्सोको स्वस्थताको लागि अतिआवश्यक छन्।’