लामो समयदेखि अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पुनः सुरू हुने भएको छ।
भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि गएको शुक्रबार आर्थिक प्रस्ताव खोलेको थियो। टेण्डर बिड गरेका १२ कम्पनीमध्ये हिमालयन कालिन्चोक बिबिआर जेभीले सबैभन्दा कम रकममा निर्माण गर्ने आर्थिक प्रस्ताव पेस गरेको थियो।
महानगरपालिका उपनिर्देशक जगन्नाथ अर्यालले हात्तीवन–१५ ललितपुरस्थित उक्त कम्पनी रंगशाला निर्माणका लागि छनोट भएसँगै सात दिनको आशयपत्र जारी गरिएको बताए।
‘हामीले शुक्रबार ७ दिनको सूचना निकालेका छौं। प्रक्रियामा चित्त नबुझेका कम्पनीहरूले यो अवधिभित्रमा उजुरी गर्न सक्छन्। कोही नआए आठौं दिनमा सम्झौता हुन्छ,’ अर्यालले भने।
उनका अनुसार असार २३ गते निर्माण कम्पनीसँग सम्झौता गरेर असार भित्रैमा काम सुरू गर्नेगरी प्रक्रिया अघि बढिरहेको छ।
हिमालयन कालिन्चोक बिबिआर जेभीले भ्याट र पिएस बाहेक ६८ करोड २ लाख ६४ हजार २०७ रूपैयाँ ८४ पैसामा निर्माण गर्नेगरी आर्थिक प्रस्ताव पेस गरेको थियो। उसले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआइपी टावरलगायतका संरचनाहरू निर्माण गर्नुपर्ने अर्यालले बताए। यहाँ ५ हजार जना अट्ने प्यारापिट बनिसकेको छ।
‘असार २४ गते महानगरको खाता बन्द हुने भएकाले त्यसअघि नै सम्झौता गरेर मोबिलाइजेसन बजेट उपलब्ध गराउँछौं,’ उनले भने, ‘यस वर्षका लागि बागमती प्रदेश सरकारले दिएको ५ करोड रूपैयाँ बजेट छ। त्यसबाट तत्कालै काम सुरू भइहाल्छ।’
गत फागुन १७ गते महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको थियो। तर एउटामात्रै कम्पनीले बिड गरेपछि त्यो प्रक्रिया विवादित बन्यो। महानगरले उक्त प्रक्रियालाई रद्ध गरेर जेठ ३ गते पुनः टेण्डर आह्वान गरेको थियो।
दोस्रो पटक १ अर्ब १० करोड रूपैयाँको टेण्डर आह्वान गरिएको थियो।
रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको मेयर रेनु दाहालले बताइन्। भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पुरा गर्न भनेर आगामी वर्षका लागि ४ करोड ३० लाख रूपैयाँ बजेट स्वीकृत गरेको छ।
‘संघीय सरकार र बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरेर महानगरपालिकाले रंगशाला निर्माण गर्नेछ। यसका लागि हामी सक्नेजति बजेट विनियोजन गर्छौं,’ मेयर दाहालले भनिन्, ‘धेरै प्रयासपछि रंगशाला निर्माणको काम सुरू हुँदैछ। हामी जसरी पनि निर्माण गरिछाड्छौं। आगामी दुई वर्षमा रंगशाला निर्माण भइसक्छ।’
संघीय सरकारले समेत राष्ट्रिय गौरवको योजनामा राखेकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा पैसाको कमी नहुने दाबी उनको छ।
जनस्तरबाट आर्थिक संकलन गर्नेगरी धुर्मुस–सुन्तली फाउण्डेशनले यो रंगशाला निर्माणको काम थालेको थियो। कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको फाउण्डेशनले २०७५ माघमा भरतपुर–१६ मा रहेको २० बिघा १९ कट्ठा जमिनमा रंगशाला निर्माण गर्नेगरी सम्झौता गरेको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जमिनमा रंगशाला निर्माण गर्दैगर्दा आर्थिक अभाव भएपछि फाउण्डेशनले हात झिकेको हो।
२०७८ साउन २२ गते रंगशाला निर्माणको काम रोकिएको थियो। त्यतिखेरसम्म निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेशनको दाबी छ। स्रोत जुटाउन नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई पत्र पठाएर निर्माणको स्वामित्व लिइदिन आग्रह गरेको थियो।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको वैठकले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सहकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि रंगशालालाई प्राथमिकतामा पारेको छ।