झापाली खेलाडी राजन सुवेदी नेसनल चेस च्याम्पियनसिपमा नयाँ च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा ११ औं चरणमा विहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
देशका उत्कृष्ट १२ खेलाडी सहभागि नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेलमा जित हात पार्दै सर्बाधिक ८ अंक बनाएर राजन च्याम्पियन भएका हुन् । १९५९ रेटिङका उनले कालो गोटीबाट खेल्दै १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाल्दै ८ अंक बनाएका हुन् ।
३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिता संयोजक एवम् नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईका अनुसार यस नेसनल च्याम्पियनसिपबाट शीर्ष तीन पुरुष र उत्कृष्ट चार महिला खेलाडी ओलम्पियाडको लागि छनोट हुने छन् ।
महिलातर्फ अन्तिम चरणको खेल बाँकी छंदै सिन्दिरा जोशीले उपाधि सुरक्षित गरिसकेकी छन् । लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघद्वारा संयुक्त रुपमा लाजिम्पाटस्थित होटल ले हिमालयमा आयोजित च्याम्पियनसिप पुरुषतर्फ २४ औं र महिलातर्फको नवौं संस्करणको राष्ट्रिय प्रतियोगिता हो ।