अमेरिकामा रहेका नेपाली मुलका बाल जोशीले ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ सफलतापूर्वक पूरा गरेका छन्।
अमेरिकाको टेक्ससमा बस्दै आएका बालले नेपाल हेरिटेज म्युजियम स्थापनाका लागि आवश्यक सहयोग जुटाउन म्याराथनमा भाग लिएका हुन्।
८ घण्टा ५६ मिनेटमा म्याराथन पूरा गरेपछि सगरमाथा आधार शिविर क्षेत्रबाट उनले भने, ‘मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड सुरू भएको छ।’
करिब दुई दशकअघि अमेरिका पुगेका बालकै परिकल्पनामा ‘नेपाल हेरिटेज म्युजियम’ अभियान सुरू भएको हो। अहिले उनी त्यही परिकल्पनालाई आकार दिन दौडिरहेका छन्।
गत जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ सफलतापूर्वक पूरा गरेका बालले नयाँ पिढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्नलाई यो अभियान सुरू गरेको बताए।
नेपाल हेरिटेज म्युजियमलाई मिनी-नेपाल अवधारणाका रूपमा अघि सार्न खोजिएको उनले बताए।
‘यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपालीमुलका सबैले गर्व गर्नसक्ने गरी पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,’ जोशी भन्छन्, ‘हामीले आउँदो पुस्तालाई दिन खोजेका हौं, यसमार्फत् नाति पुस्तासम्म नेपालसँगको सम्बन्ध र सम्पर्क टुट्न नदिने प्रयत्न हो।’
यही अभियानका लागि जोशी पछिल्लो तीन-चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन्। २०२३ मा मात्र पाँचवटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज
म्युजियमका लागि दिने बताए।