नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा शनिवारदेखि राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले १९ देखि २४ जेठसम्म प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो।
काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा ६ दिनसम्म चल्ने प्रतियोगितामा २४ औँ खुल्ला र नवौँ महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको दुवै विधामा १२ खेलाडी सहभागी हुनेछन्।
यस प्रतियोगिताका लागि केही साताअघि राष्ट्रिय बी प्रतियोगिताबाट पुरूष र महिलातर्फ समान ९ खेलाडी छनोट भएका थिए। छनोट हुनेमा पुरूषतर्फ पुरूषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौँका सुश्रुत दाहाल छन्।
त्यसैगरी, महिलातर्फ झापाकी कृतिसरा अधिकारी, काठमाडौँकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनीता कपाली, भक्तपुरकी अंशु दिल प्रजापति, झापाकी पुनम प्रसाईँ, भक्तपुरकी श्रेया दुवाल र सविना गुजा छन्।
२३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेता रूपेश जैशवाल, उप-विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत महिलातर्फकी विजेता फिडे मास्टर सुजना लोहनी, उप-विजेता सुशीला गुरूङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेको कारण उनीहरूको स्थानमा वैकल्पिक खेलाडीको रूपमा खुल्लातर्फ सुशील चौधरी र प्रासना किवनायोले खेल्नेछन्।
यस प्रतियोगिताको विजेताले आगामी फिडे जोनल ३.२ चेस प्रतियोगिता तथा कन्टिनेन्टलमा सहभागिता जनाउन पाउनेछन्। २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औँ चेस ओलम्पियाडको लागि भने पुरूषतर्फ तीन र महिलातर्फ ४ गरी नेपालबाट उत्कृष्ट ७ खेलाडी छनोट हुनेछन्।
नेपाल बुद्धिचाल महासंघका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरूष दुवैतर्फ समान ५-५ जना खेलाडी सहभागी हुनेछन्। उच्च रेटेड खेलाडीका रूपमा खुल्लामा विवेक लामा र महिलामा सुजना लोहनी तथा फिडे मास्टर रूपेश जैशवाल २३ औँ राष्ट्रिय प्रतियोगिताको विजेताका रूपमा छनोट भइसकेका छन्।
प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय प्रतियोगितामा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औँ खुल्ला तथा दसौँ महिला राष्ट्रिय प्रतियोगितामा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले राष्ट्रिय बी मा प्रतिस्पर्धा गर्न पाउनेछन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीहरूलाई विशेष प्रशिक्षण दिलाइने बताएका छन्।
'विगतको संस्करणमा नेपाली खेलाडी ओलम्पियाडको पदक नजिक पुगे पनि पदकबाट बञ्चित रहँदै आएको स्मरण गर्दै उनले योपटकको ओलम्पियाडमा उपाधि जित्ने गरी तयारी गर्ने बताए,' उनले भने।