युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटका सदस्यहरूलाई राजनीतिक दलको सदस्यता त्याग्न अनुरोध गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठले सदस्यता लिएको भए त्याग गर्न र राजनीतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न अनुरोध गरेका हुन्।
नेपाल स्काउट ऐन, २०५० को दफा १८ (क) को उपदफा १ मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धी व्यवस्था छ। जसको खण्ड (ख) र (ग)मा राजनीतिक दलको सदस्य नलिएको र गतिविधिमा संलग्न नभएको हुनुपर्ने व्यवस्था छ।
त्यसअनुसार नै दलको सदस्यता त्याग गर्न मन्त्री श्रेष्ठले अनुरोध गरेका हुन्। दलको सदस्यता त्याग नगरेमा कारबाही गर्ने मन्त्री श्रेष्ठले चेतावनी दिएका छन्।
पदाधिकारीहरू दलमा आबद्ध हुने गरेको गुनासोपछि स्काउटहरूले नै उजुरी दिएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेको हो।