सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो ।
बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कर्णालीले १० स्वर्ण, ५ रजत र १६ कांस्य हात पार्यो । ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो ।
अघिल्ला तीन संस्करणमा लगातार उपाधि जितेको लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्यसाथ पाँचौं स्थानमा रह्यो । सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १३ कांस्यसाथ गण्डकी छैटौं तथा ३ स्वर्ण, ६ रजत र ९ कांस्यसाथ मधेश सातौं भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा भएको प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडी सहभागी थिए । एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो।
जम्मा ६६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेश्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोश्रो तथा बागमतीकी अपेक्षा महतो तेश्रो भए ।
छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादव दोश्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेश्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे ।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी दोश्रो तथा सुदूरपश्चिम तेश्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेश्रो बने ।
तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए । दोश्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।
बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोश्रो तथा लुम्बिनीका सुराज थापा तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोश्रो तथा बागमतीकी एलिना विक तेश्रो बने ।
छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोश्रो तथा बागमतीका सन्तबहादुर दराई तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य हात पारे ।
कबड्डी : सुदूरपश्चिमलाई दोहोरो उपाधि
राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो । सुदूरपश्चिम छात्र÷छात्रा दुवैमा पहिलो भयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्यो । लुम्बिनी र मधेश तेश्रो भए। छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र बागमती तेश्रो भए ।
भलिबल : लुम्बिनी र बागमतीलाई उपाधि
राष्ट्रपति रनिङको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् । लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन् । विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित ग¥यो । कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।
उसु : बागमती टिम च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डको उसुमा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले ५ स्वर्ण, ५ रजत र २ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा सुदूरपश्चिम ५ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशीले समान २–२ स्वर्ण र कांस्य हात पा¥यो । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोश्रो दिन ८ स्वर्णको टुंगो लागेको थियो ।
दोश्रो दिन सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा बागमतीका अरुण सुनारले स्वर्ण जिते।
सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए । छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे ।
तेक्वान्दो ः बागमतीनै च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा ४ स्वर्णसाथ बागमती अगाडि रह्यो । स्वर्णका अलावा बागमतीले थप १ रजत र ५ कांस्य पनि जित्यो ।
कोशी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमले ३ स्वर्ण र उत्तीनै कांस्य पायो । मेधश र कर्णालीले १–१ स्वर्ण हात पारे ।
जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन ७ स्पर्धाको फाइनल भएको थियो । बाँकी ५ स्पर्धाको छात्रा ४४ केजीमुनि झरना नाथ र ४६ केजीमुनि दीपा जैसी तथा छात्र ४८ केजीमुनि शिशीर ठगुन्ननले सुदूरपश्चिमलाई स्वर्ण दिलाए । छात्र ५५ केजीमुनि बागमतीका निश्चल धोली तथा छात्रा ४९ केजीमुनि कोशीकी रेस्मा भुजेलले पहिलो स्थान हात पारे ।
कराते : बागमती फेरि च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डको मार्सल आर्ट्समा वर्चश्व जमाएको बागमती करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा ४ स्वर्ण, २ रजत र २ कांस्य पदक हात पा¥यो।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी २ स्वर्ण, ५ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसाथ लुम्बिनीले तेश्रो स्थानमा चित्त बुझायो । कर्णाली र सुदूरपश्चिम समान २–२ स्वर्ण प्राप्त गरे । करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएकोमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।
छात्रको ४२ केजीमुनि लुम्बिनीका शिखर नेपाली तथा ५२ केजीमुनि कर्णालीका लक्ष्मणकुमार शाही पहिलो भए । छात्राको ६० केजीमुनि सुदूरपश्चिमकी सोनिया तिरुवा तथा ४५ केजीमुनि कर्णालीकी प्रियंका शाहीले स्वर्ण चुमे ।