नेप्लिज तेक्वान्दो एकेडेमी र सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले बिहिबार संयुक्तरुपमा ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले महर्जनलाई सम्मान गरे।
करीब तीन दशक अमेरिकालाई कर्मथलो बनाएर पनि नेपाली तेक्वान्दो खेलको प्रवद्र्धन र विकासमा निरन्तर योगदान दिएको कदरस्वरुप ग्रान्डमास्टर महर्जनलाई सम्मान गरिएको हो।
ग्रान्डमास्टर महर्जनले नेपाली तेक्वान्दो र नेपाली तेक्वान्दो खेलाडीलाई निरन्तररुपमा सहयोग गरिरहने बताए। उनले अहिले पनि अमेरिकाको पोर्टल्यान्डमा २८ वर्षअघि आफूल्े स्थापना गरेको युएसडब्ल्यूसी तेक्वान्दो एसोसिएन– हलिउडमार्फत् तेक्वान्दो खेलाडी उत्पादन गरिरहेका छन।
नेपाली तेक्वान्दो क्षेत्रमा परिचित महर्जन दोहोरो आठौँ डान पदवी हासिल गर्ने नेपालका पहिलो व्यक्ति पनि हुन्। केही महिनाअघि मात्र विश्व तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परिक्षा उत्तीर्ण गरेका थिए। एक वर्षअघि कोरियाली मार्सल आर्ट्स एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गरेका थिए।
यसैगरी महर्जन अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) का परिकल्पनाकार हुन्।
आइओएफटिसी प्र्रत्येक दुई वर्षमा आयोजना हुन्छ । यस प्रतियोगिताको विशेषता भनेको फरकफरक देशमा यसको आयोजना नै हो । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । यसपटक पनि दक्षिण कोरियाको सोलमा हुने १४ औँ आइओएफटिसीमा नेपालका छ खेलाडी चयन गर्न आयोजित फ्रेन्डसीप खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिलसिालमा महर्जन नेपाल आएका हुन्।