अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दै छ।
अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन्।
चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन्।
प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १ सय ४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता रहने छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव घनश्याम पौडेल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
विदाइपछि सदस्य–सचिव घिसिङले आइबाअन्तर्गत मेम्बर फेडरेसन कमिटीको सदस्यमा मनोनित भएकोमा प्रवक्ता अवालेलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै बधाइ दिएका थिए।