नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ।
बुधबार मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए।
जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन्। केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्लाका हुन्।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटबलकी सावित्रा भण्डारी 'साम्बा' र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन्। रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङकी हुन्।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।
उदियमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन्। केसी र भण्डारी बागलुङका हुन् भने श्रेष्ठ कास्कीका हुन्।
वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन्। किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन्।
मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जनाए।
वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने मञ्चका कोषाध्यक्ष कविता घर्ती मगरले जनाइन्।
लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ।
उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चले जनाएको छ।
अवार्ड कार्यक्रम वैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुनेछ।