पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढा मगरले जितेका छन्।
शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन्। सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे।
सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं भए।
महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन्।
हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन्। सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भईन्।
पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे।
प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने। उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे। दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने।
जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने। उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे। आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए।
मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे।
१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो।
प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन्। प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भुमिका निर्वाह गरेका थिए।
बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्धेश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ। यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो।