२० वर्षीय विशाल गर्बुजाले जन्मिँदै बाँया हातको कुइना मुनिको भाग गुमाउनुपर्यो।
म्याग्दीमा जन्मिएका विशाल ६ वर्षको उमेरमा परिवारसँगै पोखरा आए। पोखरा आएपछि स्कुल भर्ना भएका उनी अतिरिक्त क्रियाकलापमा भने सहभागी हुन सकेनन्।
स्कुलमा उनका साथीहरू सधैं खेलमा रमाइरहेका हुन्थ्यो। तर उनले कक्षा ७ पुग्ने बेलासम्म न खेल्न पाए न खेलबारे जान्न।
त्यतिबेलासम्म उनको खुट्टाले बल छोएको थिएन। उनले भने, ‘साथी र दाइहरूले खेलेको हेर्थे। मेरो काम भनेको स्कुल जाने र आउने मात्र हुन्थ्यो।’
त्यतिबेला एकजना शिक्षक उनलाई ह्याण्डबल खेल्छौं भनेर सोध्न आए। उनलाई एकचोटी प्रयास गरौं न भन्ने लाग्यो। खेल्छु भन्दिए।
यू-१२ टोलीबाट उनले ह्याण्डबल प्रतियोगिता खेले। उनको टोली तेस्रो भयो।
यो पनि : बायाँ हात गुमाएका विशालको राष्ट्रिय जर्सी लगाउने सपना
विशालले दुई हात भएका साथीहरूले भन्दा धेरै गोल गरे। त्यसपछि उनलाई बधाइ र सम्मान आउन थाल्यो।
उनले भने, ‘मैले सोचेको थिइन यतिधेरै सम्मान पाउँछु भनेर। जिन्दगीको ठूलो खुसी नै त्यतिखेर पाए।’
फेरि उनै शिक्षकले फुटबल पनि खेल्न सुझाए। ह्याण्डबलको सफलताले उनलाई आँट दियो। फुटबल पनि खेल्न सुरू गरे। फुटबलमा पनि उनले आफ्नो कला देखाउँदै सबैको मन जित्न सफल भए।
त्यसपछि उनी स्थानीय क्लबहरूको पहिलो रोजाइमा परे। उनलाई स्थानीय प्रतियोगिता खेल्न भ्याइनभ्याइ भयो।
ह्याण्डबललाई उनले निरन्तरता दिन भने सकेनन्। उनले भने, ‘स्कुल लेभलमा प्रतियोगिता हुन्थ्यो। पछि क्लबहरुको भएन। त्यसैले ह्याण्डबल खेल्न बन्द नै भयो।’
त्यसपछि फुटबलमा मात्र केन्द्रित भए। फुटबलमा उनी विंगर पोजिसनमा खेल्थे। फ्रि-स्टाइल कौशल पनि राम्रो थियो।
एउटा हात नहुँदा सामान्य खेलाडीलाई जस्तो विशाललाई फुटबल खेल्न सहज थिएन। उनले भने, ‘अर्को खेलाडीसँग पुसपास हुँदा अलिक गार्हो हुन्छ।’
उनी फुटबलबाहेक साइक्लिङ पनि राम्रो गर्छन्।
दुई वर्षअघि कक्षा १२ को परीक्षा दिएका विशालले पढाइलाई विकल्पमा राखे। सकेसम्म फुटबलमै भविष्य बनाउने धोको पाल्दै अघि बढे।
उनी फुटबलमा भविष्य बनाउने सोच्थे। नेपालको जर्सी लगाएर अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने सपना पालिरहन्थे।
एक दिन उनी फेसबुक चालिरहेका थिए। फेसबुकमा साथी युवक लामाले उनलाई एउटा सन्देश पठाए। जुन सन्देशले उनको खेल जीवनमा नै परिवर्तन ल्याइदियो।
युवकले विशाललाई पारा तेक्वान्दो खेल्न सुझाएका थिए। पारा तेक्वान्दोका लागि उनले अर्का खेलाडी राम अधिकारीसँग भेट गराइदिए। राम अधिकारीमार्फत विशालले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामासँग भेटे। त्यसपछि उनी तेक्वान्दो सिक्न थाले।
२०७७ को फागुनमा उनी पारा तेक्वान्दोको राष्ट्रिय टिममा अभ्यास गर्न थाले। जहाँ उत्कृष्ट प्रदर्शन गरेसँगै विशालको नेपाली राष्ट्रिय जर्सी लगाउने सपना साकार हुन अवस्था आएको छ।
फुटबलबाट राष्ट्रिय जर्सी लगाउने सपना पूरा नभए पनि उनले तेक्वान्दोबाट पूरा गर्दैछन्।
उनी हाल एसियाली युथ पारा गेम्समा सहभागी हुन बहराइनमा छन्। उनले तेक्वान्दोतर्फ के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दैछन्। उनको प्रतिस्पर्धा आइतबार हुँदैछ।
आफ्नो त्याग र परिश्रमले राष्ट्रिय टिमको जर्सी लगाउने धोको पूरा भएकोमा विशाल प्रफुल्लित छन्।
‘राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो देशलाई पदक जिताउने सपना थियो। त्यो सपना पूरा भए मेरो जीवन सफल हुन्थ्यो जस्तो लाग्यो, सबैका लागि एउटा प्रेरणा हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले प्रतिस्पर्धामा उत्रनुअघि सेतोपाटीसँग भने
‘मेरो त्याग र परिश्रमले सपना पूरा भएको छ। राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। खेलका लागि उत्साहित पनि छु। आसा गर्छु मेडल लिएर देश फर्कनेछ। मेरो परिश्रम र त्याग कतिसम्म सफल हुन्छ हेरौं।’