सातौं संस्करणसम्म आइपुग्दा धारा नेपालगन्ज म्याराथनले छुट्टै पहिचान बनाइसकेको छ। राष्ट्रिय स्तरको यो प्रतियोगिता एथलेटिक्सको वर्षको आकर्षक प्रतियोगिता बन्दै आएको छ।
गत संस्करणको प्रतियोगितालाई ओलम्पिक छनोटको रूपमा लिइएको थियो। गत संस्करणको उपाधि एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जित्दै टोकियो ओलम्पिक २०२० का लागि छनोट भएका थिए। तर पछि नेपाल ओलम्पिक कमिटी र एथलेटिक्स संघको लापरबाहीले गोपीले भाग लिन भने पाएनन्।
क्रियटिभ ह्यान्ड्सको आयोजनामा निरन्तर भइरहेको प्रतियोगिता हरेक वर्ष मंसिर ५ मा आयोजना हुँदै आएको छ। नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौता स्मरण गर्दै म्याराथन भइरहेको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी बताउँछन्।
यसपालीको संस्करणमा अभिनेता राजेश हमालको उपस्थितले प्रतियोगितामा रौनक थपिएको थियो। खेलकुद मन्त्री महेश्वर गहतराजसँगै उद्घाटन गरेपछि हमालले फरक खालको कार्यक्रममा सहभागी हुन पाउँदै खुसी लागेको बताएका थिए।
विश्वका ठूला शहरमा आयोजना हुने सिटी म्याराथनको अवधारणमा हुने नेपालगन्ज म्याराथनको यो संस्करणमा दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी अघि रहन सफल भए। जसले म्याराथनको महत्व झन् बढाएको छ।
पुरुषतर्फ किरणसिंह बोगटीले उपाधि जिते। एपिएफ क्लबका किरणले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरेका थिए। ३८ वर्षीय किरणले त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतलाई पछि पारे। रावलले २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा निर्धारित दूरा पार गरेका थिए। तेस्रो भएका एपिफका सन्तोषविक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा म्याराथन पूरा गरेका थिए।
किरणले दुई वर्षअघि नेपालमा भएको १३औं सागमा नेपाललाई म्याराथनतर्फ स्वर्ण दिलाएका थिए। सन् २०१० मा राजेन्द्र भण्डारीले सागमा म्याराथन जितेपछि उनी नेपाललाई म्याराथनबाट स्वर्ण दिलाउने पहिलो खेलाडी हुन्।
नेपालगञ्ज म्याराथनमा सागमा स्वर्ण जितेकी अर्की खेलाडी पनि चम्किइन्। सन्तोषी श्रेष्ठले हाफ म्याराथनमा स्वर्ण जितिन्। उनले दुई वर्षअघि सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन्।
नेपालगन्जमा पहिलो सहभागितामै स्वर्ण जितेकी सन्तोषीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। अघिल्लो संस्करणकी विजेता पुष्पा भण्डारी दोस्रो भइन्। पुष्षाले १ घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। तेस्रो भएकी विन्दु हमालले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरिन्। प्रतियोगितामा १० किलोमिटर पुरुष खुला दौडमा मुकेश पाल पहिलो, तीर्थ पुन दोस्रो र सन्तोषनाथ योगी तेस्रो भए।
५ किलोमिटर खुला महिलामा पुलिसकी राजपुरा पछाई पहिलो, फूलमती राना दोस्रो र बन्दना बुढा तेस्रो भए। छात्र ५ किलोमिटरमा बादल कार्की पहिलो, अतुल गोडिया दोस्रो र दीपेन्द्र बोहरा तेस्रो भए।छात्रातर्फ सविता बुढा पहिलो, मन्जिता एडी दोस्रो र रविना शेष तेस्रो हुन सफल भए।
ह्वीलचियरमा महेश चौधरी पहिलो, यज्ञबहादुर खत्री दोस्रो र चन्द्रबहादुर कामी तेस्रो भए। किड्स रन (ब्वाइज) मा जसमन्त शाही पहिलो, रोहित सुनार देस्रो र शिशिर थापा तृतीय भए। गर्ल्समा जमुना पुनमगर पहिलो, समृद्धि बुढा क्षेत्री देस्रो र रूपा विष्ट तेस्रो भए। कर्पोरेट रनमा नवराज जोशी पहिलो, डा. पुष्कर न्यौपाने दोस्रो र विष्णुबहादुर रिमाल तेस्रो हुन सफल भए।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन्।