सिल्क ग्रुपको प्रायोजन, बाह्रबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ्ग, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरु खेल स्थलमा आई पुगिसकेका छन्।
मंसिर १५ देखि १८ गते सम्म हुने राष्ट्रिय प्रतियोगिताामा पुरुष एकल, महिला एकल, पुरुष युगल (नेपाल ब्याडमिन्टन संघको एकल तर्फ उच्च २० बरियतामा रहेका खेलाडीहरु बाहेक), सिन्धुपाल्चोक जिल्ला स्तरिय पुरुष युगल र भेट्रान्स युगल गरि ५ बिधामा १४८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्।
जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरुले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरुले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तररियता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ।
जिल्लास्तरिय प्रतियोगिताको सेमिफाीनल समिकरण पूरा
प्रतियोगिताको उद्घाटनको अघिल्लो दिन मंसिर १५ गते भएको जिल्लास्तरिय पुरुष युगलतर्फको सेमिफाईनल समिकरण पूरा भएको छ।
प्रतियोगिताको सेमिफाईनलमा चौतारका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी, मेलम्चीका किसन दुलाल र राजन श्रेष्ठको जोडी, बाह्रबिसेका अभिषेक गुरुङ्ग र रमेश शेर्पाको जोडी तथा बलेफीका पूर्ण थापा र अजय लामाको जोडी प्रवेश गरेका छन्।
श्रेष्ठ जोडीले क्वाटरफाईनलमा बलेफीका श्रीकृष्ण श्रेष्ठ र रारजकुमार तामाङ्गको जोडीलाई २२–२०, ८–२१, २१–१४ को प्रतिस्पर्धात्मक जित निकाले । यस्तै जित निकाल्दै सेमिफाईनल प्रवेश गर्ने अर्को जोडीमा किसन दुलाल र राजन श्रेष्ठको जोडी रहेका छन्। दुलाल र श्रेष्ठको जोडीले बाह्रबिसेका प्रतिस साख र नवराज सापकोटाको जोडीलाई १६–२१, २३–२१, २४–२२ को संघर्षपूर्ण जित निकाले ।
यस्तै अभिषेक र रमेशको जोडीले मेलम्चिका फुनु शेर्पा र विजेन्द्र तामाङ्गको जोडीलाई २१–११, २१–१६ को सहज जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरे।
यसैगरि बलेफीका पूर्ण थापा र अजय लामाको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा अभिषेक र रमेशको जोडी संगको भेट पक्का गरे।