प्रकाश दाहाल स्मृति दोस्रो पुरूष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता आजदेखि सुरू भएको छ।
प्रतियोगिताको पहिलो दिन पुरूष ६० केजीमा नक्सालका विजय थापा पहिलो भएका छन्।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सुरू भएको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई हराउँदै पहिलो स्थान हात पारेका हुन्।
६० केजी स्पर्धामा बिटिएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबिसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई स्तब्ध बनाए।
सातदोबाटोस्थित कराते हलमा भएको पुरूष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भिपिबिसीका दर्शन गुरूङ तथा चितवनका सरोज गुरूङले सुर्खेतका मोहन गुरूङलाई पाखा लगाए।
पुरूष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जीवी खड्काको चुनौती समाप्त पारे।
महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन्। महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भिपिबिसीकी ओमन गुरूङलाई निराश पारिन्।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो।