आगामी मंसिर ५ र ६ गते काठमाडौंमा 'खेल नीति सम्मेलन' हुने भएको छ।
नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
खेलकुद क्षेत्रको समग्र विकासका लागि देखिएको नीतिगत झमेला अन्त्य गर्ने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश पौडेलले बताए।
राष्ट्रिय स्तरका खेल संघ विघटन तथा खारेजी हुने अवस्थामा पुग्नुको कारण र ती समस्या समाधानका लागि दिशा निर्देश गर्न पनि सो सम्मेलनले सघाउने पुर्याउने अपेक्षा गरिएको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष पौडेलले भने, ‘खेलकुद क्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका बीचमा आवश्यक सहकार्य हुन नसक्नुका पछाडिको कारण मध्येको प्रमुख कारण नीतिगत झमेला हो। यही अन्यौलताका कारण कतिपय राष्ट्रिय खेल संघ विघटन/खारेजी हुने अवस्थामा समेत पुगेका छन्। यी सबै समस्यालाई समाधान गर्नका लागि यो सम्मेलनले एउटा दिशा निर्देश गर्न सक्नेछ भन्नेमा नेपाल खेलकुद महासंघ विश्वस्त रहेको छ।’
विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, राष्ट्रिय खेल क्षेत्रका संघका नेतृत्व, खेलसँग सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरूसहितको सहभागिता हुने सो सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
सो सम्मेलनका लागि महासंघले १३ लाख ५० हजार रुपैयाँ खर्चको व्यवस्थापन गर्ने जानकारी गराइएको छ।
यातायात, आवास तथा अन्य खर्चको व्यवस्थापन सहभागी आफैंले वा सम्बन्धित संघ, संस्थाहरूले गर्नुपर्ने महासंघका अध्यक्ष पौडेलले बताए।