भरतपुरमा राष्ट्रव्यापी विद्यालयस्तरीय प्रथम एलटिके (लेक ट्वान्टी थाउजेन्ट) पौडी प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको पहिलो दिन शनिबार विभिन्न ११ विधामा प्रतिस्पर्धा भएको छ।
९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका विशेष सिंहले स्वर्ण पदक जितेका छन्। उनले उक्त दुरी २३ दशमलव २० सेकेन्डमा पूरा गरे।
चितवनका शुभान्सराज केसीले रजत पदक हात पारे। उनले उक्त दुरी ३६ दशमलव ८५ सेकेन्डमा पूरा गरे। नेपालगञ्जकै सुशान्त बोहराले कास्य जिते। उनले उक्त दुरी ४२ दशमलव २० सेकेन्डमा पूरा गरे।
११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठ स्वर्ण पदक बिजेता बने। उनले उक्त दुरी १ दशमलव ०४ सेकेन्डमा पूरा गरे। नेपालगञ्जका दिवसले उक्त दुरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारे।
१३-१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण जिते। उनले उक्त दुरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पूरा गरे। काठमाडौंकै अर्थव सिंहले रजत पदक जिते। उनले उक्त दुरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गरे।
१५ वर्षभन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जिते। उनले उक्त दुरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पूरा गरे। काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते। उक्त दुरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाए।
१५ वर्षमाथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परी भण्डारीले स्वर्ण पदक जितिन्। उनले उक्त दुरी एक मिनेट एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पूरा गरिन्।
९-१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुवाङ बोहोराले स्वर्ण जिते। नेपालगञ्जकै विशेष सिंहले रजत जिते। ११-१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पारे। नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाए।
११-१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जितिन्। १३-१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे। काठमाडौंका अर्थव सिंह र अभ्यान्तर विक्रम राईले क्रमश: रजत र कास्य जिते।
यस्तै १५ वर्षमाथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण पदक बिजेता बने।
८ वर्षमुनिको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते। प्रतियोगितामा महिला–पुरुष खेलाडीको ३६ विधामा प्रतिस्पर्धा हुँदैछ।
भरतपुर महानगरपालिका-१३ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ। चितवनमा खेल पर्यटनको विकास गर्ने उद्देश्यले हवेलीले राष्ट्रियस्तरको पौडी प्रतियोगिता आयोजना गरेको सञ्चालक देभेन लोहनीले बताए।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासमेत आयोजना गर्न मिल्नेगरी सबै मापदण्ड पूरा गरेर चितवनमै पहिलो पटक स्तरीय स्विमिङ पुल निर्माण गरेको उनले बताए।