श्रीलंकामा प्रतियोगिता दौरान निधन भएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनलाई बिहिबार श्रद्धाञ्जली दिइएको छ। बुधबार साँझ श्रीलंकाबाट काठमाडौं ल्याइएको उनको शव श्रद्धञ्जलीका लागि त्रिपुरेश्वरस्थित राखेप कार्यालय परिसरमा राखिएको थियो।
अन्तर्राष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा भाग लिन श्रीलंका गएका महर्जनको गत बिहीबार जेठ ३० गते बेलुका महाबेली नदीमा खसेर मृत्यु भएको थियो।
५ स्टेजको साहसिक प्रतियोगिताकै क्रममा उनी नदि पार गर्ने क्रममा नदिमा खसेका थिए।
राजधानी कोलम्बोबाट २३० किलोमिटर दक्षिण–पूर्वमा रहेको कुदा ओया नदीमा डुबेका उनलाई नजिकैको बाँधबाट प्रहरीले मृत शरीर फेला पारेको थियो।
२०४२ मा काठमाडौं स्वयम्भुमा जन्मिएका उनी साइक्लिङ खेलको क्रश कन्ट्रि विधामा २०६२ जेठ २३ देखि नेपालका लागि खेल्दै आएका ३३ वर्षीय महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कास्य पदक जितेका थिए।
श्रीलंकन एअरलाइन्सको आयोजनामा यही जुन ९ देखि १५ तारिखसम्म चल्ने ‘रम्बल इन जंगल’ प्रतियोगितामा नेपाल ,भारत, बेलायत लगायत ३९ देशका बाइकरहरुको सहभागिता थियो । रेसमा महर्जनसहित अजय पण्डित क्षेत्री र बुद्धि बहादुर तामाङले नेपालबाट सहभागिता जनाएका थिए।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद् जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटिका उपाध्यक्ष धिरेन्द्र प्रधान, महासचिव लामा टेण्डी शेर्पा, राखेपका सदस्यसचिव केशव कुमार विष्ट, ओलम्पिक कमिटिका सहमहासचिव राजीव श्रेष्ठ, सदस्य निलेन्द्रराज श्रेष्ठ, अशोाक बज्राचार्य र साइक्लिङ संघका अध्यक्ष गोपाल कक्षपति र महासचिव लगायतले खेलकर्मी, पदाधिकारी, खेलाडी र कर्मचारीले उनलाई श्रद्धान्जली दिएका छन् ।
हेर्नुहोस् दशरथ रंगशालामाबाट गरिएको उनको श्रद्धाञ्जलीसहित शवयात्रा तस्बिरमा