सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीको अर्धशकतको मद्दतमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो।
विराटनगरका लागि ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। १९ औं ओभरको अन्तिम बलमा विराटनगरका प्रतिश जिसीको बलमा साम हिजलेटबाट क्याच हुनुअघि भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए।
अर्का ओपनर मख्तर अहमदले १० रन बनाउन सके। १० बलमा २ चौका प्रहार गरेका उनलाई विराटनगरका मस्याङ डि लाङले तेस्रो ओभरको पाँचौ बलमा बोल्ड गरेका थिए।
त्यसपछि विनोद भण्डारीसँग ४० रनको साझेदारी गरेका भारतीय ब्याटर शेल्डन ज्याकस २० रन बनाएर आउट भए। उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनलाई आठौं ओभरमा सूर्य तामाङले लोकेश बमबाट स्टमपिन गराए।
त्यसपछि इशान पाण्डे १३ रन बनाएर आउट हुन पुगे। पाण्डेलाई साम हिजलेटले बाउन्ड्री लाइनमा नरेन भट्टबाट क्याच गराए। भट्टले बाउन्ड्रीमा असन्तुलन गुमाएपछि बल हावामा फ्याँकेर फेरि बाउन्ड्री भित्र पसेर उत्कृष्ट क्याच लिएका थिए।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी १४औं ओभरमा दुई रन लिने क्रममा रनआउट भए। ३ रन बनाएका उनलाई डि लाङले विकेटकिपर लोकेश बमबाट रनआउट गराए। त्यसपछि हर्मित सिंह ११ बलमा २ चौकाको मद्दतमा १४ रन बनाएर आउट भए। प्रतिश जिसीको बलमा हर्मितको क्याच हिजलेटले लिए।
अन्तिम ओभरमा बाउन्ड्रीमा डि लाङको बलमा समातिनुअघि आरिफ शेखले १३ बलमा २० रन बनाए। आरिफले २ चौका र १ छक्का प्रहार गरे।
बलिङमा विराटनगरका मर्स्याङ डि लाङ र प्रतिश जिसीले २-२ विकेट लिए। डि लाङले ४ ओभरमा २३ रन दिँदा प्रतिशले ३ ओभरमा ३१ रन खर्चिए। साम हिजलेट र सूर्य तामाङको नाममा १-१ विकेट रह्यो।
खेलका लागि सुदुरपश्चिममा पाँच खेलाडी परिवर्तन गरियो। आज सुदूरपश्चिममा हेमन्त धामी, मिलन बोहरा, सेलडन ज्याक्सन, स्कट कुगेलिइन र मुख्तर अहमदले खेले।
आज सुदुरपश्चिममा दिपक बोहरा, हिक्मत महरा, पुनित मेहरा, ध्रुव परासर र जोश ब्राउन छैनन्। जोश बाउन अस्ट्रेलिया फर्किएका हुन भने भारतका सेलडन ज्याक्सन र पाकिस्तान मुख्तर अहमद नयाँ आबद्ध खेलाडी हुन्।
विराटनगरमा एक खेलाडी परिवर्तन गरिएको छ। शंकर रानाको स्थानमा नारायण जोशीले खेलेका छन्।
यो खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा दोस्रो मौका पाउनेछ।
बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ। जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। बिहीबार दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ।
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, इशान पाण्डे, दिपक बोहरा, बिनोद भण्डारी, हरमीत सिंह, सेलडन ज्याक्सन, स्कट कुगेलिइन, मुख्तर अहमद।