सन् २०३० मा हुने एसियाली खेलकुद प्रतियोगिताको आयोजक बन्नका लागि कतार र साउदी अरेबियाले दाबेदारीता प्रस्तुत गरिरहेका छन्।
ओलम्पिक काउन्सिल अफ एसियाको मूल्याङ्कन कमिटीले कतारको दोहा र साउदी अरेबियाको रियादलाई अन्तिम प्रतिस्पर्धामा राखेको छ। जसको फैसला आगामी २० डिसेम्बरमा ओमानमा हुने ओलम्पिक काउन्सिल अफ एसियाको साधारण सभाले गर्नेछ।
यसैक्रममा कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि बिहीबार अनुरोध गरेको छ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्ने क्रममा टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल पनि गरेको छ।
कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनको नेतृत्वमा आएको उक्त टोलीमा नेपालका लागि कतारका राजदुतको पनि उपस्थिति रहेको थियो।
टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको छ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना पनि गरेका थिए।
‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरसकेको छ। खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन्’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपाल र कतारको दुईपक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ।’
कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गरे।
कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि थिए।