नेपाल ओलम्पिक किमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।
श्रेष्ठका अनुसार यसअघि ओलम्पिक कमिटीका कर्मचारीलाई कोरोना भएपछि गरिएको टेस्टमा उनलाई पनि संक्रमण भएको हो।
उनीसहित अन्य दुई जनालाई पनि कोरोना भएको छ। कोरोनाको कुनै लक्षण नदेखिएका उनी अहिले आइसोलेसनमा बसेका छन्।
यसअघि गत साउन अन्तिम साता ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको थियो।
सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा काम गर्ने सबै कर्मचारीको टेस्ट गर्दा दुई जनालाई कोरोनाको पुष्टि भएको थियो।
सातदोबाटोमै रहेको स्क्वास एकेडेमीमा बस्ने प्रशिक्षक हिरा थापालाई कोरोना लागेको पुष्टि भएपछि ओलम्पिक कमिटीले सबै कर्मचारीको कोरोनाको टेस्ट गराएको थियो।
थापा भने अहिले कोरोना मुक्त भइसकेका छन्।
कोरोनाका कारण ओलम्पिक कमिटीको कार्यालय तीन सातादेखि बन्द छ। कमिटीले अझै केहि साता कार्यालय बन्द गर्ने जनाएको छ।
यस्तै सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कार्यालय बन्द गरेको थियो।
सातदोबाटोकै कराते एकेडेमीमा ओलम्पिक छनोटको तयारी पनि स्थगित भइसकेको छ।