राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ जना बोर्ड सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराए।
मन्त्री विश्वकर्माले गत साउन १५ गते रिम रानाभाट, सुभास श्रेष्ठ, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई राखेपको सदस्यमा मनोनित गरेका थिए।
जसमा विज्ञ र प्राविधिकबाट रिम रानाभाट र इन्दिरा निरौला नियुक्त भएका थिए।
यस्तै खेलकुद संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ परिषद् बोर्डको सदस्य बनेका थिए। साहसीक तथा पर्यटकीय खेलको कोटामा गोविन्द्रप्रसाद भट्टराई नियुक्त भएका थिए।
३७ सदस्यीय परिषद् बोर्डमा अब १५ जना सदस्य नियुक्त गर्न बाँकी छ। जसमा मन्त्रिपरिषद्ले ९ सदस्य नियुक्त गर्नेछ। यस्तै मन्त्रीले ६ जना नियुक्त गर्न बाँकी छ। बाँकी बोर्ड सदस्य भने पदेन रहने व्यवस्था छ।
मन्त्री विश्वकर्माले सोमबार सपथ ग्रहण समारोहमा चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने जानकारी दिएका हुन्।
मन्त्रिषरिषद्ले खेलकुदमा योगदान दिएका र अन्तर्राष्ट्रिय खेलाडी मध्येबाट तीन जना महिलासहित ९ जना बोर्ड नियुक्त गर्नेछ। जसमा ५० प्रतिशत अन्तर्राष्ट्रिय खेलाडी हुनु पर्नेछ।
मन्त्रीले विश्वविद्यालयहरूको खेलकुद हेर्ने प्रमुखबाट एक जना, पारा ओलम्पकबाट २ जना, खेलबाट संघको सिफारिसमा दुई जना महिला र उद्योग बाणिज्य महासंघको सिफारिसमा एक जना नियुक्त गर्न बाँकी छ।