काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमित संख्या बढेपछि नेपाल ओलम्पिक कमिटीको कार्यालय शुक्रबारसम्म बन्द हुने भएको छ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यका अनुसार कार्यालय बन्द गर्दै घरबाटै काम गर्ने निर्णय गरिएको हो।
शुक्रबारपछिको अवस्था हेरेर थप निर्णय गर्ने राजवैद्यले जनाएका छन्।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या मंगलबारसम्म १३ सय नाघिसकेको छ।
संक्रमितको संख्या बढ्दै गएपछि करातेको ओलम्पिक छनोटको तयारी सोमबार स्थगित गरिएको थियो।
आइतबार नेपालको राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसबाट संक्रमित भएका थिए।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित स्क्वास हलमा सँगै खेलेका साथीलाई कोरोना भएपछि थापाले परीक्षण गराउदा उनलाई कोरोना लागेको पुष्टि भएको थियो।