राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन्।
नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु। मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु। उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन।’
सदस्य–सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु भइसकेको बताए।
उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउँदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए।
‘पद ओगट्न आएको हैन’– श्रेष्ठ
यता राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन्।
उनकै सम्मानमा नेपाल ब्याडमिन्टन संघले सोमबार आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा सदस्य श्रेष्ठले उक्त धारणा राखेका हुन्।
श्रेष्ठलाई नेपाल ब्याडमिन्टन संघले राखेपको सदस्यमा मनोनयन गर्न युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो। साउन १५ गते खेलकुद मन्त्रालयले श्रेष्ठसहित ६ जनालाई राखेपको सदस्यमा मनोनयन गरेको थियो । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्।
श्रेष्ठले चार वर्षे कार्यकालमा खेलकुद र खेलाडीको हितमा उदाहरणीय काम गर्ने बताउदै नेपाल ब्याडमिन्टन संघले आफूलाई सिफारिस गरेकोमा गर्व महशुश गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलकुदलाई माया गर्ने उपाध्यक्ष श्रेष्ठ राखेपको बोर्ड सदस्य हुनु संघका लागि गर्वको विषय भएको बताउदै श्रेष्ठबाट धेरै आशा गरिएको धारणा व्यक्त गरे।
ब्याडमिन्टन खेलाडी श्रेष्ठ विगत २५ वर्षदेखि ब्याडमिन्टनमा संलग्न छन्। श्रेष्ठ ४५ वर्षमाथि उमेरसमूहको डबल्स च्याम्पियन हुन्।
उनले पार्टनर भूमिबहादुर गुरुङसंग मिलेर करिब २४ डबल्स उपाधि जितेका छन्। उनले स्विडेन र भारतमा भएको मास्टर्स ब्याडमिन्टन च्याम्पियनसिप पनि खेलेका छन्। श्रेष्ठ र भूमिको जोडी ४५ वर्षमाथि उमेरसमूहमा वर्तमान नम्बर वान हुन्।