राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको तलब सिफारिस गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवको पदपूर्तिका लागि गठन गरेको समितिले सदस्यसचिवको तलब बुधबार सिफारिस गरेको हो।
समितिले सदस्यसचिवको तलब नेपाल सरकारको सचिव सरह हुने गरी सिफारिस गरेको छ। अहिले नेपाल सरकारको सचिवको तलब ६० हजार ६ सय ७६ रुपैयाँ छ।
'सदस्यसचिवको पारिश्रमिक विशिष्ठ श्रेणी कर्मचारी (सचिव) सरह दिनका लागि सिफारिस गरिएको छ,' स्रोतले भन्यो।
समितिले बुधबार सदस्यसचिवका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।
निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम सिफारिस गरिएको थियो।
अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ। मन्त्रिपरिषद्ले उपयुक्त लागेको एक जनालाई सदस्यसचिवमा नियुक्त गर्नेछ।