राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि २७ जनाको निवेदन परेको छ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेको सात दिने सूचनाको अन्तिम दिनसम्म २७ जना निवेदन दिएका हुन्।
खेलकुदमा ५ वर्ष काम गरेको र स्नातक उत्तीर्ण न्यूनतम योग्यता रहेको सदस्यसचिव पदका लागि नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरदेखि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले निवेदन दिएका छन्।
गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागु भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर सदस्य सचिवन बन्न चाहेका छन्।
यता भलिबल संघमा रहेका नेकपाका केन्द्रीय सदस्य थापामगर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट हुन्। बाग्लुङका थापा मगर तत्कालिन एमाओवादीका पोलिटब्यूरो सदस्य थिए।
यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका टेबलटेनिस (टिटी) प्रशिक्षक सुदिल शाहीले पनि सदस्यसचिव पदका लागि निवेदन दिएका छन्। यसअघि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य रहि सकेका शाही ३५ वर्षदेखि टेबलटेनिसमा सक्रिय छन्। उनले २०७१ सालदेखि प्रचण्डलाई टिटी सिकाउँदै आएका छन्।
सदस्यसचिव पदका लागि पूर्व एआइजी रणबहादुर चन्दले पनि नाम दर्ता गराएका छन्। उनी नेपाल सुटिङ स्पोर्ट्स संघका महासचिव छन्।
नेपाली महिला भलिबल टिमकी पूर्व कप्तान अञ्जु श्रेष्ठ र पूर्व भलिबल खेलाडी निलम बज्राचार्यले पनि सदस्यसचिव पदका लागि निवेदन दिएका छन्।
शारिरीक सुगठन खेलको तर्फबाट रोशन महर्जन, क्रिकेटका अनिल अधिकारी, एथ्लेटिक्स संघका पूर्व पदाधिकारी रविराज कर्णिकार पनि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ पनि सदस्य सचिव पदका आकांक्षी छन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएको थियो।
त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्को सदस्यसचिवका लागि गत शुक्रबार दरखास्त आह्वान गरेको थियो।
अब सिफारिस समितिले निवेदन दिएकहरुको कार्ययोजना अध्ययन गरेर उपयुक्त लागेका तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। जसमा एक जना महिला हुनु पर्नेछ। तीन मध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।
मिति २०७७।०३।२६ को ७ दिने सूचना अनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदका लागि २०७७।०४।१ साँझ ५ बजे सम्म प्राप्त भएका आवेदनहरु
शाखा दर्ता नं | नाम/ थर | ठेगाना |
१. | रोशन महर्जन | ललितपुर महानगरपालिका १७ लुँखुसि टोल पाटन |
२. | अनिल अधिकारी | भरतपुर १० चितवन |
३. | हर्कबहादुर राई | सोताङ्ग गा.पा. १ सोलुखुम्बु |
४. | मिना श्रेष्ठ | इटहरी १ सुनसरी |
५. | शिवराज भट्ट | समैजी गा.पा. डडेलधुरा |
६. | लिलबहादुर थापा मगर | बरेङ्ग २ बाग्लुङ |
७. | रवि राजकर्णिकार | काठमाडौ महानगरपालिका ३१ |
८. | अचुतम लामिछाने | टोखा नगरपालिका ८ काठमाडौ |
९ | निलम सिंह बज्राचार्य | महालक्ष्मी नगरपालिका २ लिलतपुर |
१० | रमेशकुमार सिलवाल | बेनीघाट ९ धादिङ्ग |
११ | मेघराज पौडेल | कमल गा.पा. ७ झापा |
१२ | रामेश्वर श्रेष्ठ | काठमाडौ मा.न.पा.१२ काठमाडौं |
१३ | अच्युत खनाल | ललितपुर महानगरपालिका १५ ललितपुर |
१४ | मनबहादुर गुरुङ्ग | पोखरा महानगरपालिका २६ बुढिबजार कास्की |
१५ | विजयकुमार राई | मोरङ्ग |
१६ | सानुराजा के.सी. | बुढनिलकण्ठ न.पा. १० काठमाडौं |
१७ | किशोर शाही | |
१८ | अन्जु श्रेष्ठ | ललितपुर म.न.पा. ५ ललितपुर |
१९ | सुदिल शाही | ललितपुर |
२० | रमेशमान डंगोल | का.न.पा.२ काठमाडौं |
२१ | ध्रुवराज न्यौपाने | हाल बुढानिलकण्ठ ११ काठमाडौं |
२२ | खेमराज अधिकारी | ब्रहमतोला ७ बाजुरा |
२३ | राम पुडासैनी | कागेश्वरी मनोहरा न.पा. ८ काठमाडौं |
२४ | सुनिल नकर्मी | ललितपुर |
२५ | रणबहादुर चन्द | हाल काडमाडौं |
२६ | दिपेन्द्र ढकाल | हेटौंडा २ मकवानपुर |
२७ | तेजबहादुर गुरुङ्ग | पोखरा म.न.पा. १ कास्की |