नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव बन्नका लागि २७ जनाले निवेदन दिइसकेका छन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएको थियो।
त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्को सदस्यसचिवका लागि गत शुक्रबार दरखास्त आह्वान गरेको थियो।
उम्मेदवारी दिनेमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित नेपाली महिला भलिबल टिमकी पूर्व कप्तान अञ्जु श्रेष्ठसम्म छन्।
गएको वर्षको असारमा प्रधानमन्त्री ओली निकट सिलवालले राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागु भएपछि उनको पद निष्क्रिय हुँदा सिलवालले निवेदन हालेर सदस्य सचिवन बन्न चाहेका छन्।
आठौं र दशौं सागकी पदक विजेता अञ्जुसँगै अर्की पूर्व भलिबल खेलाडी निलम बज्राचार्यले पनि सदस्यसचिव पदका लागि निवेदन दिएकी छिन्।
यस्तै शारिरीक सुगठन खेलको तर्फबाट रोशन महर्जनले निवेदन दर्ता गराएका छन्। क्रिकेटका अनिल अधिकारीले पनि उम्मेदवारी दिएका छन्। यस्तै एथ्लेटिक्स संघका पूर्व पदाधिकारी रविराज कर्णिकारले पनि निवेदन दिएका छन्।
सदस्यसचिवका लागि अहिलेसम्म निवेदन दिनेहरु :-
रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मीना श्रेष्ठ, शिवराज भट्ट, लिलबहादुर थापा, रवि राजकर्णिकार, अच्युतम लामिछाने, निलम बज्राजार्च, रमेशकुमार सिलवाल, मेघराज पौडेल, अन्जु श्रेष्ठ, अच्युत खनाल, मनबहादुर गुरूङ, विजयकुमार राई, रामेश्वर श्रेष्ठ, सानुराजा केसी, किशोर शाही, सुदिल शाही, रमेशमान डंगोल, धुब्रराज न्यौपाने, खेमराज अधिकारी, राम पुडाशैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरुङ
सदस्यसचिवका निवेदनसहित कार्ययोजना पनि प्रस्तुत गर्नु पर्ने व्यवस्था छ। कार्ययोजना प्राप्त भएपछि सिफारिस सिमितिले अध्ययन गर्नेछ। कार्ययोजनाको विषयमा छलफल गर्नका लागि समितिले निवेदकलाई पनि बोलाउन सक्नेछ।
कार्ययोजना अध्ययन गरेपछि समितिले उपयुक्त लागेका तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। जसमा एक जना महिला हुनु पर्नेछ। तीन मध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।