राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि बुधबार सम्ममा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले निवेदन दिएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले परिषद्को सदस्यसचिवका लागि गत शुक्रबार दरखास्त आह्वान गरेको थियो।
समितिले योग्यता पुगेका इच्छुक आवेदनलाई सदस्यसचिव पदका लागि सात दिनभित्र संक्षिप्त कार्ययोजना सहित निवेदन दर्ता गर्न भनेकोमा अहिलेसम्म सिलवालसहित ११ जनाले निवेदन दर्ता गराएको स्रोतले बतायो।
गत असारमा प्रधानमन्त्री ओली निकट सिलवालले राजनीतिक नियुक्ती पाएका थिए। खेलकुद ऐन लागु भएपछि उनको पद खारेज भएको थियो। त्यसपछि आह्वान गरिएको दरखस्तमा सिलवालले निवेदन दर्ता गराएका हुन्।
निवेदनसहित कार्ययोजना पनि प्रस्तुत गर्नु पर्ने व्यवस्था छ। कार्ययोजना प्राप्त भएपछि सिफारिस सिमितिले अध्ययन गर्नेछ। कार्ययोजनाको विषयमा छलफल गर्नका लागि समितिले निवेदकलाई पनि बोलाउन सक्नेछ।
कार्ययोजना अध्ययन गरेपछि समितिले उपयुक्त लागेका तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। जसमा एक जना महिला हुनु पर्नेछ। तीन मध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।
सदस्यसचिव बन्न चाहिने योग्यता
-नेपाली नागरिक
-नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह उत्तीर्ण
-खेलकुद क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको
-प्रचलित कानुनले आयोग्य नभएको
-तीस वर्ष उमेर पूरा भएको