नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन्।
आइसिसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले आइसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ।
उनले भने,‘मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आइसिसीलाई राम्रोसँग थाहा छ। आइसिसीले पनि नेपाललाई बचाउन खोजेको छ। नेपालको पक्षमा निर्णय गर्छ।’
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए।
उनले भने,‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ।’
उनले सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएकोले आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आइसिसीकै निर्देशनअनुसार आफूहरूले स्वतन्त्र र निष्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे।
उनले भने,‘अन्य कुराहरू सुशासन लगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन। हामीले त आइसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं।’
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए।
‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं,’उनले थपे।
चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानी ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौं।’