नेपाल ओलम्पिक कमिटी(एनओसी)को निर्वाचन आगामी भदौ २० गते हुने भएको छ।
एनओसीको सोमबार बसेको विशेष साधारणसभाले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले प्रस्तावित मितिलाई स्वीकृत गरेसँगै एनओसीले नयाँ निर्वाचनको मिति तय गरेको हो।
निर्वाचनमा एनओसीमा आबद्ध २७ संघलाई मताधिकारको अधिकार हुनेछ।
बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन्।
विशेष साधारणसभाले विधान संशोधन गर्दै एनओसीको कार्यसमिति १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको छ। नयाँ विधानअनुसार कार्यसमितिमा २ सचिवको सट्टा अब ३ सचिव र ५ उपाध्यक्षमा ५ हुनेछन्।
विधानमा एनओसीका पूर्वअध्यक्षलाई मानार्थ अध्यक्षको पद दिने, मानार्थ उपाध्यक्ष नियुक्त गर्ने र ओलम्पिक मुभमेन्टमा योगदान दिने व्यक्तिमध्येबाट सल्लाहकार राख्ने पनि व्यवस्था गरेको छ।
विशेष साधारणसभाले गल्फलाई पनि आधिकारिक मान्यता दिएको छ। योसँगै ओलम्पिक कमिटीमा आबद्ध खेल संख्या २७ पुगेको छ।
साधारणसभामा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, सङ्घका १९ प्रतिनिधि र एक पर्यवेक्षकको उपस्थिति थियो।