राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्षको अन्तिम दिन मंगलबार ११ सय ५८ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ।
प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमान बनाएका ६ सय ९६ खेलाडीलाई राखेपले ७७ लाख रुपैयाँ वितरण गर्यो।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ४ सय ६२ खेलाडीलाई २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरियो।
पुरस्कार वितरण हुने सूचना सोमबार मात्र थाहा पाएकाले कतिपय खेलाडी पुरस्कार लिन उपस्थित हुन सकेनन्।
एसिसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता जितेको नेपाली टिमका चार खेलाडी मात्र पुरस्कार लिन उपस्थित थिए। टिमका अधिकांस खेलाडी बाहिर रहेकाले पुरस्कार लिन आउन नपाएका हुन्। यी बाहेक कराते, तेक्वान्दो लगायत खेलका कतिपय खेलाडी अनुपस्थित थिए।
‘राखेपमा आएको एक साता मात्र बितेको छ। त्यसैले हतारमा पुरस्कार वितरण गर्नुपर्यो,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले समारोहमा भने, ‘आज लिन आउन नपाएकाको पुरस्कार सुरक्षित हुन्छ। यसपटक ढिलाइ भए पनि अर्को वर्ष समयमै पुस्कार दिने प्रतिवद्धता व्यक्त गर्छु।’
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेकालाई जनही १५ हजार तथा टिममा स्वर्ण हात पार्नेलाई जनही ७ हजार नगद पुरस्कार दिइएको थियो।
विभिन्न ४ खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानका लागि प्रत्येक कीर्तिमानको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो।
आठौंमा एथलेटिक्सकी चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए।
पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, शायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए। त्यस्तै सुटिङकी सुस्मिता नेपाल तथा गोल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १–१ कीर्तिमान बनाएका थिए।
यसैगरी आर्थिक वर्ष २०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता ४ सय ६२ खेलाडीलाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरियो।
कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कास्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो। जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो।