राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली क्रिकेटको समस्या समाधान एक हप्ताभित्रै हुने बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिलवालले क्रिकेट विवाद छानबिनका लागि गठित समितिका सदस्य र समितिसँग छुट्टाछुट्टै छलफलमा बसेर समाधान निकाल्ने बताए।
उनले क्रिकेट बिगार्न षडयन्त्र गर्नेको भण्डाफोर गर्ने समेत बताए। उनले आइसीसीमा पुगेर भए पनि क्रिकेटको समस्या समाधान गरी छाड्ने बताए।
उनले दक्षिण एसियाली खेलकुद (साग) बेलैमा गर्न नसके आफूले सदस्यसचिव पदबाट राजीनामा दिने बताए।
दक्षिण एसियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुदका लागि निर्माण हुन लागेका पूर्वाधारहरूको निरीक्षणका लागि पोखरा आएका सदस्यसचिव सिलवालले आफू जागिर खान नआएको बताउँदै काम गरेरै अगाडि बढ्ने बताए।
उनले पोखरा रंगशालाभित्र निर्माण हुन थालेको फुटबल मैदान कृत्रिम बन्न नहुने बताए।
‘प्राकृतिक मैदान बनाउनुपर्छ। हरियाली ठाँउमा कृत्रिम मैदान बनाउने होइन,’ उनले भने,‘आर्टिफिसियलमा जानु हुँदैन। नेचुरल नै बनाउनुपर्छ। यो मेरो व्यक्तिगत विचार हो। सम्झौतामा कसरी भएको छ त्यो हेर्नुपर्छ।’
सदस्य सचिव सिलवालले पोखरामै अर्को वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधारको लागि काम सुरू गरिने स्पष्ट पारे।
उनले अहिले साग खेलका लागि २७ मध्ये केही खेलका प्रशिक्षणका कार्यक्रमहरू सुरू भइसकेको बताए ।