राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा प्रधामन्त्री केपी शर्मा ओलीनिकट रमेश सिलवाल नियुक्त हुने भएका छन्। गत असार ९ गते केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा सिलवाल नियुक्त हुन लागेका हुन्।
सिलवालले मन्त्रीस्तरिय निर्णयबाट सोमबार नै राखेपको जिम्मेवारि दिन लागिएको हो। राखेपको सदस्यसचिव मन्त्रीस्तरिय निर्णयबाट नियुक्त हुने प्रावधान छ।
सदस्यसचिवको दौडमा राखेपमा उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पूर्व अध्यक्ष दानबाहादुर तामाङ, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिव कोइराला पनि थिए।
प्रधामन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सिलवाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्न खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आइतबार भनेका थिए।
मन्त्री विश्वकर्मा आइतबार पोखरामा भएकाले नियुक्ति प्रक्रिया सोमबारसम्म लम्बिएको थियो।
मन्त्रालय स्रोतका अनुसार सिवालवको सपथ दिउँसो २ बजे हुने तय भएको छ।
आर्थिक वर्ष सकिन लाग्दा राखेपमा फाइलको चाप बढेपछि सिलवाललाई सोमबार नियुक्त गर्न लागिएको हो।
सिलवाल २०७२ मा राष्ट्रिय खेलकुद परिषदले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए। त्यसअघि २०६३ मा उनी क्यानको सदस्य थिए। उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए।
सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष समेत हुन्।
तत्कालीन एमालेका ओलीनिकट खेलकर्मीहरू मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध छन्। यस्तै नेता माधवकुमार नेपाल निकटका भने नेपाल खेलकुद महासंघमा छन्।
सिवालल सञ्चालक रहेको गोल्डेनगेट कलेजले फ्रेन्चाइज क्रिकेटमा आफ्नो टिम किनेको छ। धनगढी प्रिमियर लिग (डिपिएल) मा गोल्डेन गेटको स्वामित्वमा रहेको काठमाडौं गोल्डेन्सले सहभागिता जनाउँदै आएको छ।
सिलवालले यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने इच्छा देखाएका थिए। तर लामो समय खेलकुदमा रहेका उनलाई खेलकुद परिषद्को सदस्य सचिव पद उपयुक्त हुने सुझाव उनका निकटतम व्यक्तिले दिएका थिए।
प्रधानमन्त्री ओलीसँग उनको सम्बन्ध भएको झन्डै तीन दशक हुन लागिसकेको छ। केपी ओली तत्कालिन प्ररायु संघका अध्यक्ष हुँदा सिलवाल सचिव दिए।
राखेको १९ औं सदस्यसचिव बन्न लागेका सिलवाललाई सामु आगामी मंसिरका लागि तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्नु पर्ने चुनौती छ।
दुई पटक सरिसकेको प्रतियोगिता आगामी मंसिर १५ देखि काठमाडौं र पोखरामा हुने तय छ। त्यसका लागि ठोस अघि बढेको छैन। भौतिक पूर्वाधारका काम समयमै राख्नका लागि चुनौती देखिएको छ। प्रतियोगिताको उद्घाटन र समापन हुने दशरथ रंगशाला विगत ५ वर्षदेखि पुनर्निर्माण भए पनि अझै सकिएको छैन।