स्टार स्ट्राइकर ग्यारेथ बेलको देश वेल्स, सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ। जेम्स म्याकलिनको गोलको सहयोगमा जीत हासिल गर्दै रिपब्लिक अफ आयरल्याण्ड भने छनोट चरणको प्लेअफमा पुगेको छ।
वेल्सको कार्डिफ सहरको कार्डिफ सिटी रंगशालामा घरेलु टोलीले पहिलो हाफमा बल नियन्त्रणमा लिएको थियो, तर आयरल्याण्डको शक्तिशाली डिफेन्स र रणनीतिक गेमका कारण उनीहरू गोल गर्नबाट चुके।
दोस्रो हाफमा उत्कृष्ट खेलले आयरल्याण्डको आत्मविश्वास बढ्यो। ५७ औं मिनेटमा म्याकलिनको हाफ भली शट उत्कृष्ट गोलमा परिणत हुँदा वेल्स एक गोलले पछि पर्याे । अन्ततः त्यही गोलले वेल्सको विश्वकप सपना अपुरो पारिदियो।
वेल्सले त्यसपछि आयरल्याण्डको डिफेन्स लाइन तोड्न सकेन । खेलमा राम्रा अवसरहरू सृजना हुन सकेनन्। यो खेलमा जसले जितेपनि प्लेअफका लागि स्थान सुरक्षित हुने थियो। त्यसमा आयरल्याण्डले बाजी मार्याे । वेल्सले यसअघि ४ जीत र ५ बराबरी खेलेको थियो ।
यस समूह ‘डी’बाट सर्बियाले विश्वकपमा स्थान सुरक्षित गरेको छ। वेल्सले सर्वियासँग भने दुवै खेल बराबरी खेलेको थियो।
वेल्स फुटबलको गोल्डेन जेनेरेशन मानिएको यो टिम रुस विश्वकपमा छनौट भएको भए सन् १९५८ पछिको पहिलो सहभागिता हुने थियो। तर, सुपरस्टार स्ट्राइकर ग्यारेथ बेल चोटका कारण नियमित खेल्न नसकेपछि वेल्सको यसपालि विश्वकप खेल्ने सपना अन्त्य भएको छ ।
यसअघि सन् १९७८ र सन् १९९४ को विश्वकप छनौटमा पनि अन्तिम समयमा वेल्स छानिन सकेको थिएन।