एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रवार भएको खेलमा देउराली यूथ क्लबले जन जागृति क्लबलाई ३–१ ले हराएको छ।
खेलको पहिलो मिनेटमा नै शम्भु थारुको गोलमा जन जागृतिका शम्भु थारुले टोलीलाई अग्रता दिलाए पनि देउरालीका मिलन लिम्बुले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । उज्ज्वल राईले एक गोल गरे । देउरालीका विशाल तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए ।
अर्को खेलमा चित्लाङ स्पोर्ट्स क्लब र विजय स्पोर्ट्स क्लबका बिचमा १–१ गोलको बराबरी भयो। विजयका लागि अरुण थापा तथा चित्लाङका लागि विजय खड्काले गोल गरे । २ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ।
सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुने छ ।