इंग्लिस प्रिमियर लिगको सिजनको सातौं चरणका खेल सकिदा शीर्ष पाँच स्थानमा रहेका टोलीबीच ३ अंकको मात्र दूरी रहेको छ।
यसअघि लगातार पाँच खेलमा जित निकालेको शीर्ष स्थानको लिभरपुलले लगातार दुई खेलमा पराजय भोगेपछि शीर्ष टोलीबीचको अंक दूरी कम भएको हो।
यता पाँचौं चरणसम्म दुई खेलमा मात्र जित निकालेको म्यानचेस्टर सिटी पछिल्ला दुई खेलमा लगातार जित निकालेको छ।
सिटीले आइतबार राति ब्रेन्टफोर्डमाथि १-० गोलको झिनो अन्तरको जित निकाल्यो। शीर्ष स्थानको आर्सनलले शनिबार वेस्ट ह्यामलाई २-० ले हराएको थियो।
लिभरपुल भने लगातार दुई खेलमा पराजित हुने क्रममा शनिबार चेल्सीसँग २-१ गोलले हारेको थियो।
टोटेनहमले पनि सिजन सातमध्ये चार खेलमा जित निकालेको छ। उसले शनिबार लिड्सलाई २-१ ले पराजित गर्यो। वर्नमाउथ पनि चार खेलमा विजयी भएको छ। उसले पछिल्लो खेलमा फुलहममाथि ३-१ गोलको जित निकालेको थियो।
लिगको सातौं चरणसम्म आर्सनल १६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुलको १५ अंक छ भने तेस्रो स्थानको टोटेनहम र चौथो स्थानको वर्नमाउथको १४-१४ अंक छ। म्यानचेस्टर सिटी १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
छैटौं स्थानको क्रिस्टल प्यालेसको १२ अंक रहदा सातौं स्थानको चेल्सी, आठौं स्थानको एभर्टन र नवौं स्थानको सन्डरल्यान्डको ११-११ अंक छ।